कोरोना सङ्क्रमित कर्मचारीले बिदा पाउने

काठमाडौं । कोरोना सङ्क्रमित कर्मचारीले कोरोना बिदा पाउने भएका छन् । मन्त्रिपरिषदको मङ्सिर १० गते बसेको बैठकले गरेको उक्त निर्णय कार्यान्वयनको लागि मातहतका सबै निकायमा परिपत्र गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शंकर नेपालले जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ देखिए पनि सामान्य अवस्थामा रहेको कर्मचारीलाई १४ दिनको बिदा, हस्पिटलमा बस्नुपर्ने अवस्थाको कर्मचारीलाई हस्पिटलमा उपचार गरेको समयावधिसम्म बिदा पाउने छन् ।

परिपत्रमा निजी संघ संस्थाका हकमासमेत सोही अनुसारको व्यवस्था गर्न गराउन उल्लेख गरिएको छ । यो निर्णयसँगै यसअघि कोरोना संक्रमणका कारण कार्यालयमा आउन नसकेका कर्मचारीलाई पनि सोही अवधिको कोरोना बिदा दइने परिपत्रमा उल्लेख छ । कोरोनाको कारण कार्यालयमा उपस्थित हुन नसकेका सरकारी तथा अर्धसरकारी निकाय सबैले उक्त बिदा पाउन सक्नेछन् ।

बिदाको लागि सम्बन्धित कार्यालय प्रमुखले क्वारेन्टिन वा आइसोलेशनमा बसेको वा अस्पतालमा भर्ना भएको व्यहोरासहितको प्रमाणहरु अनिवार्य पेश गर्नुपर्ने छ ।

सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारी कोरोनाबाट संक्रमित भएमा वा कन्टयाक्ट ट्रेसिङ्गमा परेमा त्यस्ता पदाधिकारी वा कर्मचारीबाहेक अन्य कर्मचारी(पदाधिकारीबाट सार्वजनिक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउनसमेत परिपत्रमा भनिएको छ । यसको नियमित अनुगमन सम्बन्धित मन्त्रालय र प्रदेश संकट व्यवस्थापन केन्द्र, जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गर्नेछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना सङ्क्रमित कर्मचारीलाई बिदा दिने विषयमा प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । यसअघि कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै बिदा दिने कुनै पनि कानुनी व्यवस्था थिएन ।

हाल देशभर एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार पाँचसय र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी रहेको छ ।

प्रतिक्रिया