‘कोरोनाकालमा रक्तदानको महत्व अझ बढी छ’

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले कोभिड १९को जोखिमका बेला रक्तदानको महत्व अझ बढेको बताएका छन् ।
१४ औं संघीय संसद सेवा दिवस–२०७७ का अवसरमा मंगलबार संसद सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदान कार्यक्रको सुभारम्भ गर्दै सभामुख सापकोटाले कोरोना सृजित विषमताका बेला गरिएको रक्तदानको कयौं गुणा महत्व रहेको चर्चा गरे ।

संघीय संसद, सदस्य डा. बिमला राई पौडेललाई रक्त थैली (ब्लड ब्याग) हस्तान्तरण गरि रक्तदानको सुभारम्भ गरेपछि संक्षिप्त सम्बोधनका क्रममा सभामुख सापकोटाले भनेका छन्, ‘रक्तदान जीवन दान त्यत्तिकै भनिएको होइन, रक्तदानको सधैंभरि महत्व छ, अहिले झन यसको कयौं गुणा महत्व छ ।’

सभामुख सापकोटाले दैनिकजस्तो रगत अभावको खबर आइरहेको स्मरण गर्दै आज गरिएको रक्तदानले रगत अभाव टार्न केही सहयोग हुने विश्वास व्यक्त गरे । संसद सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उनले खुशी पनि व्यक्त गरे ।

कार्यक्रममा दुई जना सांसद, कर्मचारी र सञ्चारकर्मी गरी ५३ जनाले रक्तदान गरेका थिए । संघीय संसद सचिवालयले संसद सेवा दिवस २०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।
विसं ०६३ सालदेखि हरेक बर्ष मंसिर २८ का दिन संघीय संसद सेवा दिवस मनाइदै आइएको छ ।

प्रतिक्रिया