‘वैकल्पिक पनि उस्तै’ भन्न थाले भने ?

काठमाडौं । ०४५/४६ को आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीले नेपाली जनतामा पलाएको आशा र उत्साह केही वर्षमात्र पनि कायम रहन सकेन । अस्वस्थ दलीय प्रतिस्पर्धा र नेताहरुमा तीव्र रुपमा उत्पन्न अनावश्यक राजनैतिक स्वार्थ र आर्थिक लालसाले राजनीति प्रदूषित मात्र भएन, बरु सशस्त्र युद्धका लागि वातावरण बनाउन सघायो ।

अस्वस्थ र घृणित दलीय गतिविधिबाट वाक्क–दिक्क जनताको भावना छामेर राजाले अपरिपक्व कदम चाल्न पुगे । तर, उक्त कदम आत्मघाती नै सावित भयो ।

सबभन्दा उत्तम व्यवस्था ‘गणतन्त्र’ मानिने कारण जनताको छोरा–छोरी सर्वोच्च तहमा पुग्न पाउने र जननिर्वाचित सरकारले नै देशको सर्वाङ्गीण विकासको जिम्मेवारी लिएर समृद्धिको यात्रातर्फ लम्किरहन पाउने भएर नै हो ।

लामो समय निरङ्कुशता र सामन्ती शोषणको मार खेपेर कष्टकर निर्वासन र कठिन भूमिगत जीवनशैलीबाट आएका सादगीपूर्ण नेताहरुमध्यबाटै सरकार प्रमुख तथा राष्ट्र प्रमुख बनेको अवस्थामा सर्वसाधारण नेपाली नागरिकहरुमा अपेक्षाको बाढी आउनुलाई अन्यथा लिन पनि मिल्थेन भने ठूलो त्याग र लामो संघर्षपछि देश बनाउने जिम्मेवारी प्राप्त गरेका दल र नेताहरुले पनि अहोरात्र इमानदारीका साथ कार्यसम्पादन गर्नुपर्ने विषय स्वाभाविक र अनिवार्य आवश्यकता नै थियो । तर गणतन्त्रको एक दशकको भोगाई र अनुभव पनि पहिले–पहिले भन्दा पनि झनै तितो र निराशाजनक सावित भएको प्रमाणका लागि हिजो आज ‘राजतन्त्र’ को पक्षमा विभिन्न स्थानहरुमा दिनहुँ देखिने जुलुसहरु नै काफी छन् । यी जुलुसहरुमा हुने सहभागिता र आयोजकहरुमा देखिने उत्साह हिजो राजतन्त्रमा धेरै राम्रो कार्य भएको हुनाले नभइ आजका सरकार, मन्त्री, दल र नेताहरुको असक्षमता, भ्रष्टाचारमा लिप्तता, नातावाद, पदलोलुपता र सपनाको खेती मात्र गर्ने प्रवृत्तिविरुद्धमा हो भन्ने बुझ्नु उचित हुन्छ ।

गणतन्त्रमा समयानुकूल कदम चाल्न नसकिरहेका दल र नेताहरुको विकल्प जनताको खोजी र चाहना रहेको कुरालाई ध्यानमा राखेर केही क्षमतावान् र स्वच्छ छवी भएका सालिन र सक्रिय युवाहरु संगठित हुँदै दलीय आकारसमेत लिँदै गरेको अवस्थामा एकथरी देशभक्त मानिसहरु उक्त छातामुनि कुनै न कुनै रुपमा आफूलाई उभ्याउन प्रयासरत रहेको यो समयमा वर्तमान सरकार र पुराना दलहरु र तिनका नेतहरुको असफलता र असक्षमताको आक्रोशस्वरुप नयाँ र ऊर्जावान् ‘वैकल्पिक राजनीतिक शक्ति’तर्फ मोडिनुको सट्टा उहीँ पुरानै सामन्ती सत्ताको संस्थापक ‘राजतन्त्र’ तर्फ फर्कनुलाई गहण र अर्थपूर्ण रुपमा लिँदै गम्भीर विश्लेषण आजको राजनीतिक आवश्यक्ता हुनुपर्ने हो ।

सु–शिक्षित, सूरवीर, संस्कारी, विवेकी, युगलाई चिनेका, प्रविधिमैत्री, प्रतिभावान् र संसार देखेका तथा आवश्यक पर्दा सबै खाले विज्ञको समेत उपलब्धता रहेका भर्भराउँदा ऊर्जावान् मानिसहरू ‘वैकल्पिक’ र ‘सु–संस्कृत’ राजनीतिका लागि भन्दै आफूलाई मैदानमा उतारिसकेको अवस्थामा पनि किन नेपाली जनता यीनै असफल प्रमाणित भइसकेका दल र नेताहरुमा नै अझै पनि आशावादी हुने र यिनीहरुप्रतिको विकर्षणबाट विमूख हुनुपर्दा पुरानै अर्थात् ०४७ को संविधानतर्फ फर्कन उचित ठान्दछ्न ? गम्भीर प्रश्न छ ।

व्यवस्थाको नाम र पद्धतिभन्दा पनि नेताहरुको अदूरदर्शीता र असक्षमता अनि अनियन्त्रित भ्रष्टाचार नै नेपाल पछि पर्नुको कारण हो भन्दा कसैको विमति नरहेको अवस्थामा विद्यमान दलहरु र नेताहरुमध्यबाटै असल र क्षमतावान्हरुलाई मौका दिनुको साटो फेरि व्यवस्थालाई नै दोष दिने र ‘गणतन्त्रको विकल्पमा राजतन्त्र’ को वकालत गर्न शुरु हुनु पक्कै पनि अग्रगामी वा वैज्ञानिक कदम भनेर मान्न सकिँदैन होला, तै पनि किन यसै दिशातर्फ सोझिन खोज्दैछ हाम्रो राजनीति ?

जब–जब नेपालमा राजनीतिक अस्थिरता शुरु हुन्छ, तब–तब यसका पाछाडि विदेशी शक्तिको स्वार्थ र हात रहेको कुरा विगतबाट प्रमाणित भइसकेको अवस्था छ । आफ्नो राजनीतिक सफलताका खातिर विदेशीको बुइ चढ्नु वा उनका स्वार्थका खातिर राष्ट्रको अस्मिताको समेत दाउ लगाउनु हाम्रो दुर्भाग्यपूर्ण इतिहास रहेको छ । जसको कारणले हामी कहिल्यै पराधिन नरहेको भनी गर्व गर्ने भए पनि वास्तवमा सधैं नै हामी पराधिनजस्तै रह्यौं र रहिरहेकै छौं ।

हाम्रा अपार प्राकृतिक साधन र श्रोतहरु सनै –सनै उनीहरुकै कब्जामा जाँदैछ्न, हाम्रो दुर्भाग्य !

अब यस आलेखको शीर्षकतर्फ लागौं– वैकल्पिक पनि उस्तै सु–संस्कृत राजनीति भन्दै केही युवाहरु विवेकशीलको नाममा सामाजिक गतिविधिका साथ आए । जस्तैः उज्वल थापा, गोविन्दनारायण, मिलन पाण्डे, रञ्जु दर्शना आदि । यसैगरी बडो स्पष्टताका साथ रवीन्द्र मिश्र, सूर्यराज आचार्य, किशोर थापा, प्रकाशचन्द्र परियारलगायत आदि इत्यादि ।

डा. बाबुराम भट्टराईले पनि त्यत्रो सशस्त्र युद्ध लडे । माओवादीको नेतृत्व नै गर्दै युद्ध लडेका उनले पछि आएर माओवादीसँगकै नाता तोडेर जोखिमपूर्ण कदम चाले । ‘नयाँ शक्ति’को तामझामपूर्ण स्थापनाले गज्जबको तरङ्ग ल्याए पनि आज उनको अभिष्ट र अवस्था चाहिँ छर्लङ्ग भइनै सकेको छ ।

जे–जस्तो भए पनि नेपाली जनता राजनीतिक रुपमा चरम निराशाको अवस्थामा हिजो पनि थिए र आज पनि छन् । यिनै निराशाहरुबीच साझा पार्टी रवीन्द्र मिश्रको नेतृत्वमा आउँदा यसको तरङ्ग राष्ट्रव्यापी रह्यो, सबै तह र प्रकारका मानिसहरुको चासो र चर्चाको विषय बन्यो । काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा प्रकाशमानसँग थोरै मात्र मतान्तरले मिश्र पराजित हुँदा देशैभरि दुःख मनाउ गर्ने मानिसहरु थिए ।

उस्तै उस्तै सोच र सिद्धान्त बोकेका विवेकशील र साझालाई उक्त निर्वाचनपछि अविलम्ब एक हुन ठूलो जनदबाब पर्यो र दबाब झेल्न नसकेपछि बिनायोजना, बिनातयारी, बिनापर्याप्त छलफल भावनामा बहेर ‘कच्चा एकता’ गर्न पुगे । जुन स्वाभाविक रुपमा टिक्न सकेन र केही महिनामा नै जस्ताको त्यस्तै टुक्रिन पुगे । यो नै ‘वैकल्पिक राजनीति’ का लागि कालो धब्बा अर्थात् ‘ग्रहण’ बन्न पुग्यो । जसको मार देशले दशकौंसम्म भोग्नुपर्ने निश्चित छ । राजनीति आखिर ‘फोहोरी खेल’ नै हो कि क्या हो भन्ने सन्देश यो घटनाले फेरि पुष्टि गरी छाड्यो । हाल पुनः एकीकरणको नजिक पुगेको समाचारहरु आइरहेका छन् । यद्यपि फुट्दा जे गुम्यो र त्यसबाट परेको दीर्घकालीन असरको क्षति अब पुन: जुट्दा निकै कम मात्र पूर्ति हुने अवस्था छ । राजनीतिक रुपमा भन्नुपर्दा यो उहाँहरुको सबैभन्दा ठूलो त्रुटिपूर्ण कदम थियो । तरै पनि फुट्नुभन्दा जुटेकै राम्रो हो ।

यदि राजनीति ‘फोहोरी खेल’ होइन, यो त तिनीहरुको पनि मुख्य नीति, समृद्ध राष्ट्र निर्माणका लागि यही नीति नै प्रमूख हो । केबल पात्र खराब रहेको हुँदा राजनीति नै फोहोरी देखिएको हो, अब ‘वैकल्पिक शक्ति’ हातमा राजनीति आएको खण्डमा ‘सु–संस्कृत राजनीति’ र ‘समृद्धि’को यात्रा तय हुन्छ भनेर मान्ने हो, अघि बढ्ने हो र जनताको मनमा बसेर विश्वाशको मतसमेत लिने हो भने निम्न बुँदाहरुमा सकारात्मक भइ अघि बढ्नु समयको माग बन्न पुगेको छ । किनकी, अब को दुई वर्षभित्र स्थानीय निकाय र त्यसपपछि संसदीय निर्वाचन हुने समय आइसक्यो । सुझबुझपूर्ण द्रुत कदम चाल्न ढिला हुँदैछ ।

ध्यानाकर्षणः
१, सामाजिक सञ्जालमा केही हजार फलोअर र प्रसंशक हुनासाथ आफूलाई नै केन्द्रमा राखेर आ–आफ्नो रुचीको विषयमा अभिव्यक्तिहरु दिँदै जाने, सकेको कामहरु पनि गर्दै जाने हो र मेरो मातहतमा आएर अभियानमा योगदान जसले दिए पनि हुन्छ । तर, म अरु कसैको मातहतमा रहन नमिल्ने व्यक्तित्व होइन भन्ने भावनाले ग्रस्त सयौं क्षमतावान्हरुको क्षमता दुरुपयोग वा खेर गएको आवस्था छ, यस विषयमा गम्भीर चिन्तन र आत्मसमीक्षा गरी सामूहिकतामा विश्वास र अरुको नेतृत्व पनि स्वीकार गर्न तयार रहने मानसिकता बनाउन जरुरी छ । यत्ति पनि गर्न नसक्ने हो भने के को सु–संस्कृत ? कस्तो वैकल्पिक ? कसरी विवेकशील ? र, किन अरुको मात्र आलोचना ? हामी पनि उही ड्याङका भएनौं र ?

जस्तैः– महावीर पुन, कुलमान घिसिङ, डा गोविन्द केसी, डा. सूर्यराज आचार्य, रवि लामिछाने, ज्ञानेन्द्र शाही, रमेश खरेल, हेमराज थापा, ज्वाला संग्रौला, रञ्जु दर्शना, इशान अधिकारी (ईः), सिताराम कट्टेल, हण्ड्रेड्स ग्रूप, कृष्ण कंडेल, प्रेम बानियाँ, रमेश प्रसाईं, मुश्कान खातुन आदि, के तपाईंहरुको चाहना देश बनाऔं अर्थात् देश बनोस् भन्ने होइन र ? तपाईंहरुको सिद्धान्त र एजेन्डा एउटै छन्, एउटै नभए पनि अधिकांश मिल्दोजुल्दो छन् । तपाईंहरुले साँच्चिकै देश र जनताको लागि अभियान र राजनीति गरेको हो भने किन तपाईंहरु एक ठाउँ आउन सकिरहनु भएको छैन वा चहानुहुन्न ?

यदि तपाईंहरुको गन्तव्य र योजना एउटै हो भने कतिपय मतभिन्नताका बाबजूद सँगसँगै हिँड्नुपर्ने होइन ? बाझिएका मतहरु के के छ्न आपसमा घनिभूत छलफल र सम्वाद गरेर समाधान गरी अघि बढ्ने अवस्था बनाउन किन नसकेको ? यी सब कुराहरु तपाईं वैकल्पिक हौं भन्नेहरुका कमीकमजोरीहरु हुन्, जसका कारणले आज नेपालीहरु चरम निराशामा रहँदा पनि तपाईंहरुभन्दा अन्य शक्तितर्फ बढी आशावादी र आकर्षित हुन बाध्य छ्न् । के यो तपाईंहरुको असफलता र सरमको विषय होइन ? खोइ अब हामी छौं है ढुक्क भएर हामीलाई साथ दिनुहोस्, हामी नेपाल र नेपालीका सपनाहरु तुहिन नदिने बाचा गर्दछौं भनी जनतासामु जनताले पत्याउने गरी जान सकेको ? एक्लै वा स–साना टुक्रामा विभाजित भएर देश बदल्न वा बनाउन सम्भव हुँदैन ।

अहम, आक्रोश , स्वार्थ, मपाईंवाद र पदीय लोभलालचबाट आफूलाई टाढै राख्ने कठोर अनि मुश्किल प्रतिज्ञा गरेर जसरी पनि देश बनाई छाड्ने हुटहुटी नजागेसम्म र त्यसका लागि इमान्दारी र निरन्तरता नभएसम्म राजनीतिको ‘ग्रहण’ हट्ने छैन र नेपाल अझै वर्षौंवर्ष दुनियाँको सर्वाधिक पिछडिएको मुलुक र हामी उक्त देशका सबैभन्दा हेपिएका नागरिक भइरहने निश्चित छ ।
दोष जति जनतातिर देखाएर पन्छिने परमपरागत छुट कमसेकम तपाईंहरुलाई चाहिँ छैन ।

२, अनि तमाम नेपालीहरु जो विभिन्न कारणले नेपालभन्दा बाहिर रहनु भएको छ, कतिपय अति विकसित मुलुकमा पनि हुनुहुन्छ, त्यहाँको वैभव र पद्धतिसँग आफ्नो मुलुकको तुलना गर्दै मातृभूमिलाई सराप्नुहुन्छ । नेता र दललाई गाली गर्नुहुन्छ, त्यहीँबाट यहाँ भएकाहरुभन्दा पनि बढी योगदान दिन सकेजस्तो गर्नुहुन्छ, जे–जस्तो भए पनि घुमाइफिराइ नेपालको उन्नती भएकै हेर्ने चहाना चाहिँ तपाईंहरुभित्र प्रचूर मात्रामा रहेको कुरा नकार्न सकिँदैन, यद्यपि शैली र प्रस्तुति भने आ–आफ्नै रहने गरेका छ्न् । कतिपय पीआर र ग्रीनकार्ड अनि सीटीजनसीप नै बनिसकेर पनि आफ्नै जन्मस्थलको पिरचिन्ता प्रकट गर्न छोड्नु भएको छैन । यी सब कुराले तपाईंहरु पनि विदेशी भूमिबाट नेपालप्रति चासो राखिरहनु भएकोछ भन्ने कुरा त झल्कन्छ । तर, यतिले वैकल्पिक राजनीतिलाई टेवा पुगिहाल्छ भन्ने ठान्नुभएको हो भने त्यो अपुग छ ।

तपाईँहरु आ–आफ्नै स्थानबाट रचनात्मक र परिणाममुखी सहयोग गर्न प्रतिबद्ध र इमानदार हुन निःतान्त खाँचो छ । जस्तैः रचनात्मक बन्नका लागि पारदर्शी ढङ्गले अर्थ संकलन र दान गरेर, आफ्नो क्षेत्रमा रहेका नेपालीहरुलाई बेला बखतमा भेला पारी देशको चिन्तनमनन अनि राजनीतिक सबलता–दुर्वलताका बारेमा चर्चा गर्ने र स्वस्थ मूल्याङ्कनको आधारमा वैकल्पिक राजनीतिको धारलाई शासनमा किन र कसरी पुर्याउने भनी छलफल चालाएर । परिणाममुखी योगदानका लागि नेपालमा रहेका आफन्त, साथीभाइ र छरछिमेकीहरुलाई प्रसंगवश हुने भेटघाट र कुराकानीहरुमा देशको विद्यमान राजनीति र समृद्धिका प्रसंगहरु पनि चार्चा गर्ने तथा देश पछि पर्नुका कारणहरुको यथार्थ विवरण प्रस्तुत गरी अब परमपरागत सोच र विचारभन्दा माथि उठेर ३० वर्षदेखि रोज्दै दिँदै आएको मत र पार्टीका पछि अब पनि लागिरहनु भनेको समृद्धि नदेखी परलोकको बाटो रोज्नुसरह हुने हुँदा देश बनाउने सर्तमा वैकल्पिक राजनीतिका अनुयायीहरुलाई बिनासर्त सत्तामा पुर्याउन सघाउनुपर्ने खालका काउन्सेलिङ दिनुपर्नेछ । यसो गर्न सकियो भने मात्र हामी सबैको समृद्धि हेर्ने रहर पूरा होला अन्यथा यसै भन्न सकिँदैन ।

३, केही प्रबुद्ध र देशभक्तहरु जो सदा सत्ताको स्थायी आलोचकको रुपमा परिचित हुनुहुन्छ तर उहाँहरुको आशय विधिको शासन होस् र समृति आउन सकोस् भन्ने नै रहने गरेको छ ।

जस्तैः सुशिला कार्की, बुद्धिनारायण श्रेस्ठ, लीलामणि पौडेल, डा. सुरेन्द्र केसी, डा. भीमार्जुन आचार्य, डा. द्वारिकानाथ ढुङ्गेल, रुक्मांगद कटुवाल, डा. प्रेम सिंह बस्न्यात, प्रेम कैदी, रामेश्वर खनाल, डा. दिनेश त्रिपाठी आदि, के तपाईँहरुको चाहना नेपाल बनोस् भन्ने नै होइन र ? उमेर, अनुभव र प्रतिष्ठाका हिसाबले कतिपय अवस्थामा तपाईँहरुलाई दलीय घेराभित्र बाँधिन मन लागदैन भने पनि त्यसलाई स्वाभाविक रुपमा लिन सकिएला । तर, किन एक्लाएक्लै बोलिमात्रै रहनुहुन्छ, सयौं–हजारौं पल्ट तर्कसङ्गत सुझाव र रचनात्मक आलोचनाहरु पनि यी सत्ताधारीहरुको लागि भालुलाई पुराण भइसकेपछि तपाईंहरुले पनि विकल्प खोज्नु पर्दैन ?

‘वैकल्पिक शक्ति’को रुपमा आउन प्रयासरतहरुलाई आफ्नो परिपक्व सुझावको ढाडस दिएर सघाउन पनि सकिँदैन ? यदि देश बन्छ भने दल, वाद र आफ्नो पृष्ठभूमिभन्दा माथि उठेर फ्रेशरहरुको काँधमा थपथपाउँदै अघि बढ्न उत्साहित पार्नुपर्दैन ? अनुभवहीनता र अपरिपक्वताको कारणले कहीँकतै चुक्न थालेछन् भने पनि उनीहरुलाई समयमै सतर्क पार्दै खुलेर अभिमत प्रकट गर्दै जाने हो भने मात्र जनतामा वैकल्पिक शक्तिप्रतिको सकारात्मक सोच अलि छिटो बन्ने र यी वर्तमान ‘सम्पूर्ण रुपमा असफल’ हरुलाई प्रतिस्थापन गरेर तपाईँहरुको बाँकी जीवनकालमा नै देशले सही मार्ग अवलम्बन गरी समृद्धितर्फको यात्रा आरम्भ गरेको हेरेर सन्तोषको श्वास फेर्ने धोको पूरा गर्नुपर्छ जस्तो लाग्दै र ?

सोच्नुहोस् त एकपटक !
सबै नेपालीहरुले पनि यस बिषयमा आजैबाट सोच्न थाल्नु पर्दछ ।
नेपालको जय होस् !

प्रतिक्रिया