पर्यटनमन्त्री भन्छन् – ‘ईयूले नेपाली हवाई उड्‍डयनलाई कालो सूचीबाट हटाउने संकेत दिनु स्वागतयोग्य’

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका हुन् ।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनरसंरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसदमा छलफल भइरहेको छ । संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे । नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको बताए ।

यस्तै नेपालको वायुसेवा निगमले अस्ट्रेलिया जस्तो उड्डयान सुरक्षाको दृष्टिकोणले निकै नै सुरक्षित मानिएको देशमा समेत सफल उडान गरिसकेकाले अन्य आकाशमा पनि प्रतिबन्धित हुनु नपर्ने विश्वास व्यक्त गरे ।

युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालो सूचीमा राखेको कारण नेपालका कुनैपनि विमान युरोपमा उडान गर्न पाउँदैनन् । यसबाट अन्य देशका गन्तव्यमा जान समेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ । तर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपालले हवाई सुरक्षाका लागि गरेको प्रस्ताव स्वागत योग्य भएको बताउनुले निकट भविष्यमै कालोसूचीबाट हटने संकेतका रुपमा लिन सकिन्छ ।

ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्यनलाई कालो सूचीमा राखेको थियो ।

प्रतिक्रिया