प्रचण्डका चिन्ता !

काठमाडौं । गत ३ मंसिरको नेकपा केन्द्रीय सचिवालय बैठकले १८ गतेको लागि तय गरेको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण २१ गते सारियो । केही दिनको लागि सबै पार्टी कमिटीहरुको बैठक रोक्ने ध्याउन्नमा रहेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली त बैठकमा उपस्थित भएनन्, तर पनि अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै बैठक अघि बढाए ।

यद्यपि बैठकमा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत् दुई पृष्ठको एक पत्र भने पठाएका थिए । ‘प्रचण्डको प्रस्तावमाथि औपचारिक रुपमा छलफल गर्न सकिन्न, त्यसैले बैठकमा आइनँ !’ पत्रमा उल्लेख गरिएको थियो । पत्रानुसार बुझ्न सकिन्थ्यो कि–ओलीलाई बैठकमा उपस्थित हुनबाट रोक्ने गत २८ कात्तिकको सचिवालय बैठकमा दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन नै हो ।

तर, यता दाहालले भने ओलीकै कार्यशैली र बानी–व्यहोराका कारण उक्त प्रस्ताव ल्याउनुपरेको जिकिर गरेका छन् । बैठकलाई सम्बोधन गरेका दाहालले लामो रस्साकस्सीपछि मात्रै आफूहरुले त्यस्तो कदम चाल्नुपरेको बताए । अध्यक्ष दाहालले सम्बोधनकै क्रममा भनेका थिए, ‘अरु कमरेडहरुले खाली प्रचण्डले प्रतिवेदन ल्यायो रे ! भन्ने मात्रै सुन्नुभयो । तर, त्यो प्रस्ताव ल्याउनुको पनि कारण छ, हामी लामो समयसम्म आन्तरिक रस्साकस्सीमा रह्यौँँ’, दाहालको बोलीलाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भनेका छन्, ‘हामीले बारम्बार बैठकको ताकेता गर्दा पनि प्रधानमन्त्रीले मान्नुभएन । बैठक राखौँ भन्दा उल्टै हामीलाई नराम्रो देख्नुभयो । त्यसपछि पाँचै जनाले सल्लाह गरेर प्रतिवेदन ल्याएका हौं ।’

एक घण्टाभन्दा बढी समय लिएर बोलेका दाहालले चिन्तासमेत गरेका थिए । ती सदस्यका अनुसार दाहालले खासगरी तीन विषयप्रति चिन्ता व्यक्त गरेका थिए । संविधानले निर्दिष्ट गरेको समाजवादको यात्रा बीच बाटोमै रोकिन्छ कि भनेर डर मानेका दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेसमेत बताएका थिए । यसै विषयमा दाहालले भनेको थिए, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु पनि छ । तर, यस्तो तरिकाले कसरी गर्न सकिन्छ ?’

यसैबीच दाहालले पार्टी एकतालाई पनि केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका थिए । पार्टी एकताको बाँकी काम टुङ्गो नलागी नै पार्टीभित्र यस्ता दरारपन देखिनु शुभसङ्केत नभएको बताएका दाहालले पार्टी एकतालाई कामय गर्न आफूहरु सधैं तयार रहेको बताएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिप्रति स्थायी कमिटी सदस्यहरु
यता स्थायी कमिटी सदस्यहरुले भने ओलीको अनुपस्थितिलाई साधारण रुपमा लिनुपर्ने बताउँछन् । बैठकमा स–शरीर उपस्थित नभए पनि पत्र पठाएकाले उनी आफैँ नै उपस्थित भए पनि सोही कुरा नै दोहोरिने बताउँछन् स्थायी कमिटी सदस्य भीम रावल । उनले भनेका छन्, ‘अध्यक्षज्यू स–शरीर उपस्थित नभए पनि पत्र पठाउनुभयो । उहाँ आफैँ नै उपस्थित भएजस्तै हो । किनकी, उहाँ भौतिक रुपमा उपस्थित नै हुनुभएको भए पनि कुरा र अडान उही हुन्थ्यो ।’

यस्तै यता अर्की सदस्य तथा बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले बैठकमा अध्यक्ष नै उपस्थित नहुनु ‘अचम्मको कुरा’ भएको बताइन् । ‘हामीले पर्खिरह्यौँ, उहाँ (प्रधानमन्त्री) आउनुभएन । त्यसपछि हामी आफैँले केही छलफल गर्यौँ’, शाक्यले मकालु खबरसँगको कुराकानीका क्रममा भनेकी छन्, ‘आजसम्म मलाई के थाहा छैन भने यस्ता खालका बैठकहरुमा अध्यक्ष नै उपस्थित नभएको थाहा छैन । अब पार्टी अगाडि बढ्यो ।’

यस्तै यता अर्को सदस्य हरिबोल गजुरेलले भने अध्यक्ष ओलीले पार्टीको स्थायी कमिटी बैठकलाई स्वीकारिसकेको बताए । ओलीले पत्र पठाएर बैठकलाई स्वीकारेको सदस्य गजुरेलको तर्क छ, ‘समस्याको हल त भइसकेको छैन । तर, अध्यक्षज्यूले बैठक चाहिँ स्वीकारिसकेको अवस्था हो ।’

प्रतिक्रिया