उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन छाप्ने दुई संस्थालाई कारबाही

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन छाप्ने दुई संस्थालाई सरकारले कारबाही गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपाललाई शिक्षा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरेको भन्दै कारबाही गर्न लागेको हो ।

‘अनधिकृत रुपमा उल्लेखित गैह्र–सरकारी संस्थाहरूले यस मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गर्नुका साथै नेपाल सरकारको प्रतिलिपि अधिकारको समेत उल्लंघन गरिएको देखिएको हुँदा यस विषयमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाइसकिएको छ’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२०७५ सालमा आयोगले बुझाएको प्रतिवेदन सरकारले गोप्य राखेपछि आयोगका बहुमत सदस्यहरूले गत शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यही प्रतिवेदनको प्रिन्ट संस्करण प्रकाशित गरेको भन्दै सरकारले एनसीई र ग्लोबल एक्सनलाई कारबाही गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ।

शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायले दुवै संस्थासँग सहकार्य गर्दै आएको थियो । तर आइतबारदेखि सहकार्य समेत बन्द गरिएको मन्त्रालयले जनाएको छ । एनसीई र ग्लोबल एक्सनले भने उच्चस्तरीय शिक्षा आयोगका सदस्यहरूको निर्णय र स्वीकृतिमा प्रतिवेदन प्रकाशन भएको जानकारी दिएको छ ।

प्रतिक्रिया