कामना सेवा विकास बैंकद्वारा लोक गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग

काठमाडाैं । कामना सेवा विकास बैंकले श्रोतामाझ निकै नै लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीतका गायक सुरेश गन्धर्वलाई उपचारका लागि सहयोग स्वरुप ५० हजारको चेक हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभित्र रही विभिन्न क्षेत्रमा रहेका पीडितलाई सहयाेग तथा वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान गर्दै आइरहेकाे छ । साेही याेगदान अनुरूप बैंकले सुरेश गन्धर्वलाई उपचारका लागि ५० हजार सहयाेग गरेकाे हाे ।

सहयोग स्वरुपको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका थिए । सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरि संकलन गरि प्रदान गरिएको बैंकका प्रदेश नं. १ प्रमुख छाराहाङले जानकारी दिए ।

६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्व सानै उमेरदेखि नै सारङ्गी बजाउँदै आफ्नो सुरिलो स्वरले गाउँदै धेरै श्रोताको मन जित्न सफल भएका थिए । २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिंकीबुङको राँगोलाई बोलको गीत रेर्कड समेत गराएका थिए । ‘रिंकीबुङको राँगोलाई…..चुङकेबुङको चुलेसीले’ गीतका चर्चित गायक सुरेश गन्धर्व पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट पिडित रहेका छन् ।

प्रतिक्रिया