मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

गौतमबुद्ध बिमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन

कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न निर्देशन दिएका छन् ।

शनिबार विमानस्थलको स्थलगत निरीक्षणपछि मन्त्री भट्टराईले आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई २५ दिनभित्र काम सक्न निर्देशन दिएका हुन् ।

‘तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ,’ भट्टराईले भने । निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि उनले विश्वास व्यक्त गरे ।

कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उनले उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताए । मन्त्री भट्टराईले भने, ‘सकेसम्म उहाँहरु आउनुहुन्छ । यदि कोरोनाकै कारण आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्नुहुन्छ ।’

आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए । उनले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताए ।

प्रतिकृयाहरु
Loading...