काठमाडौंका प्रजिअ भन्छन्–‘राजावादीहरुको प्रदर्शन नरोकिए बल प्रयोग गर्छौँ’

कमाठमाडौं । विगत केही दिनदेखि आक्कलझुक्कल देखिने राजावादी आन्दोलन चर्किँदो छ । संघीय राजधानी काठमाडौंसँगै देशका प्रमुख शहरहरुमा अनियन्त्रित रुपमा आन्दोलनहरु देखिएपछि गत १७ मंसिरमा गृह मन्त्रालयले राजनीतिक आन्दोलन र विरोध प्रदर्शनका नाममा महामारीलाई प्रश्रय दिने गरी कुनै गतिविधि नगर्न र प्रशासनको अनुमतिबेगर भएका गतिविधि नियन्त्रणमा लिन निर्देशन दिएको थियो ।

गृहले भनेको थियो–‘कोरोना महामारीका बेला जोखिम न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने सबैको दायित्व रहेकाले राजनीतिक माग, विरोध, प्रदर्शन, र्‍यालीलगायतका गतिविधि हुन थालेकाले यस्तो निर्देशन दिनुपरेको हो । सरकारका आदेश र निर्देशन उल्लंघन गर्दै परिस्थितिलाई थप प्रतिकूल बनाउने, अस्थिरता फैलाउने, सर्वसाधारणलाई भड्काउने गरी गतिविधि गर्न नदिन प्रशासनमा परिपत्र भइसकेको छ ।’

तर, अहिले पनि राजावादी आन्दोलन रोकिएको छैन । आजैको कुरा गर्नुपर्दा काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर थुरिने मान्छेका लर्को देखियो । यता गृहको निर्देशन पालना नगरी हजारौंको संख्यामा उत्रिएका राजावादीहरुप्रति प्रशासनले भने खासै चासो देखाएको छैन ।

मकालु खबरको ‘प्रशासनको निर्देशन नमान्ने प्रदर्शनकारीहरुबारे तपाईँको बुझाइ के हो ?’भन्ने जिज्ञासामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको जवाफ छ–‘गृह मन्त्रालयबाट निर्देशन पनि आएकै हो र हामीले आन्दोलनको नेतृत्व गरेका संगठनलाई समेत खबर गरेको हौं । तर, उहाँहरुले रोक्नुभएको छैन ।’

यस्तै प्रजिअ पराजुलीले आन्दोलनलाई थप सशक्त बनाइएको खण्डमा प्रशासनले बल प्रयोग गर्ने पनि बताए । ‘हामीले अझै ताकेता गर्छौँ, यदि उहाँहरुले नजरअन्दाज गरे बल पनि प्रयोग गर्छौँ’, प्रजिअ पराजुलीले भनेका छन् ।

प्रतिक्रिया