नेकपाको विवाद अब स्थायी कमिटीमा, के ओलीले एउटा पद छाड्नै पर्ने हो ?

काठमाडौं । सत्तारुढ नेकपाका शीर्ष तहमा देखिएको विवाद सचिवालयले मिलाउन नसकेपछि अब स्थायी कमिटीमा जाने भएको छ । आज बसेको नेकपाको सचिवालयले विवाद मिलाउन नसकेपछि भोली बस्ने स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो ।

आज बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । भोली देखि बस्ने स्थायी कमिटीले पार्टीभित्र देखिएको विवादको छिनोफानो गर्ने नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले बताए ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको जानकारी दिए । सचिवालयको निर्णयअनुसार आइतबारको स्थायी कमिटीमा दुवै अध्यक्षको प्रस्ताव पेश हुनेछ ।

प्रवक्ता श्रेष्ठले भने–‘पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने छ । दुबै प्रस्ताव पेश गरी छलफलमा लैजाने लगिने छ ।’

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै राजनीतिक प्रस्ताव ल्याएका थिए । प्रचण्डको आरोपको बचाउमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएका थिए । दुई अध्यक्षको प्रस्तावमा एकले अर्कालाई आरोप प्रत्यारोप गरिएको छ भने सोही प्रस्तावका कारण नेकपाभित्रको विवाद थप चर्किएको अवस्था छ ।
पार्टीभित्रको विवाद मिलाउन दुई अध्यक्ष लचक हुन तयार छैनन् ।

स्थायी कमिटीमा कसको बहुमत ?

नेकपा भित्रको विवाद सचिवालयले मिलाउन नसकी स्थायी कमिटीमा प्रवेश गरेपछी सबै भन्दा असर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्ने देखिएको छ । ४५ सदस्यीय स्थायी कमिटीमा कार्यवाहक अध्यक्ष प्रचण्ड र माधबकुमार नेपाल पक्षधरको स्पष्ट बहुमत भएकाले ओली अल्पमतमा परेका छन् ।

प्रचण्ड–माधब पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमा एउटा छाड्नै पर्ने दवाव दिइरहेकाले नैतिक रुपमा अब ओलीलाई एउटा पद मात्र रोज्नु पर्ने संकट आइपरेको छ ।

नेकपाको राजनीतिसँगै पार्टीलाई विधि र पद्दतिमा लग्न तथा नेकपालाई फुटको राजनीतिबाट जोगाउन अब ओलीसँग एउटा पद त्याग गर्नु वाहेकको विकल्प छैन ।

स्थायी कमिटी सदस्य सांसद लालबाबु पण्डितले सचिबालयले समाधान गर्न नसकेको विषय स्थायी कमिटीले गर्न सक्ने आशा व्यक्त गरे । ‘सचिवालयले विवाद समाधान गर्न सकेन, अब स्थायी कमिटीमा आएको छ, भोलीबाट दुवै अध्यक्षका प्रस्तावमा घनिभूत छलफल हुन्छ ।’ उनले भने ।

स्थायी कमिटीमा प्रचण्ड गुटको बहुमत भएकाले अब प्रधानमन्त्रीले एउटा पद छाड्नै पर्ने हो ? भन्ने प्रश्नमा पण्डितले स्थायी कमिटीमा कसैको बहुमत हुँदैमा निर्णय बहुमतकै पक्षमा आइहाल्छ भन्न नमिल्ने बताउँदै स्वभाविक रुपमा विवादमा सबै विषयमा छलफल भएर निष्कर्ष निकाल्न सकिने बताए ।

प्रतिक्रिया