खैरहनीमा माटो परीक्षण प्रयोगशाला

चितवन । चितवनको खैरहनी नगरपालिकाले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विश्व माटो दिवसको अवसर पारेर शनिबार प्रयोगशालाको उद्घाटन गरिएको हो ।

स्थानीय पालिका आफैँले सञ्चालनमा ल्याएको उक्त प्रयोगशाला जिल्लाकै पहिलो हो । प्रयोगशालाको एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गरे भने नगर प्रमुख लालमणी चौधरीले माटो ल्याब टेक्निसियनलाई हस्तान्तरण गरे ।

सो अवसरमा जिल्ला समन्वय समिती प्रमुख डल्लाकोकोटीले माटोको उर्वराशक्ति ह्रास भइरहेका बेला स्थापना गरिएको प्रयोगशालाले कृषकहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । ‘रासायनिक मलका कारण माटोको उर्वराशक्ति घट्दै गएको छ’, जिसस प्रमुख डल्लाकोटीले भने, ‘माटोको अवस्था बिग्रँदै जाँदा उत्पादन पनि घटिरहेको छ, सुधारका लागि माटो परीक्षणैविना उपचार विधि हो ।’

यस्तै प्रमुख डल्लाकोटीले नेपाल कृषिमै आधारित रहेकाले स्थानीय तहले पनि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । खैरहनी नगर प्रमुख लालमणी चौधरीले वर्षौंदेखि माटोको परीक्षणविना खेती गर्दा उर्वराशक्ति घट्दै गएको बताए । ‘माटोको गुण घट्दै छ’, नगर प्रमुख चौधरीले भने, ‘वडा–वडाले माटो परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

प्रयोगशालामा माटोको नाइट्रोजन, फस्फोरस, पोटास, पीएच, बनौटलगायत परीक्षण हुने नगरपालिकाका कृषि शाखा प्रमुख कृषि अधिकृत दिपेन्द्र अर्यालले जानकारी दिए । उनकाअनुसार प्रयोगशालामा डिजिटल मिटर, फ्लेम फोटोमिटर, इनकुभेटर, डबल विम स्पेक्टोफोटोमिटरलगायत उपकरण छ ।

प्रयोगशालाबाट खैरहनी नगरपालिका र अन्य स्थानीय तहका कृषकले पनि माटो परीक्षण सेवा लिन पाउने कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले बताए ।

प्रयोगशालाका लागि खैरहनीले नै ल्याब टेक्निसियनमा मनिष पौडेललाई नियुक्त गरेको छ । उद्घाटन कार्यक्रममा वडाध्यक्षहरु टीकादत्त इटनी, देवबहादुर बस्नेत, प्रतिमा कार्की, रामशरण पाण्डे, टेकबहादुर थापा, कारिराम चौधरी, रामपुर कृषि क्याम्पस प्रमुख मिलन सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया