अमेरिकी अध्ययन भन्छ–‘कोरोना भाइरस चीनबाट फैलिएको थिएन’

एजेन्सी । चीनमा कोरोनाभाइरसका बिरामी पहिचान गर्नुअघि नै अमेरिकाका केही व्यक्तिमा यसको एन्टिबडी बनेको पत्ता लागेको छ । अब यो भाइरस कहाँ र कहिलेबाट मानिसमा सरेको थियो भन्ने पत्ता लगाउन मुस्किल भएको वैज्ञानिकहरुले बताएका छन् ।

करीब एक वर्ष पहिले चीनको वुहानमा रुघाजस्तै नयाँ रोग आएको खबर फैलियो । शुरुमा नोबल कोरोनाभाइरस भनिएको कोभिड–१९ वुहानको मासु पसलबाट फैलिएको अमेरिकाले दाबी गर्दै आएको थियो । तर, अमेरिकाकै एक अनुसन्धानले यो भाइरस चीनबाट नफैलिएको जनाएको छ ।

बीबीसी हिन्दीले जनाएअनुसार उक्त अनुसन्धानका अनुसार चीनमा बिरामी पत्ता लाग्नुभन्दा केही सयमअघि नै अन्य व्यक्ति संक्रमित भइसकेका थिए । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का वैज्ञानिकले गरेको अध्ययनको नतिजा एक पत्रिकामा प्रकाशित गरेको छ । उक्त नतिजामा कोरोनाभाइरसको संक्रमण चीनभन्दा पहिला अमेरिकामा नै भएको उल्लेख छ ।

चीनको हुबेई प्रान्तका स्वास्थ्य अधिकारीले ३१ डिसेम्बर २०१९ मा एक चेतावनी जारी गरेर अनौठो तरिकाको श्वासप्रश्वाससम्बन्धी बिरामी भेटिएका जनाएका थिए । ती बिरामीमा निमोनियाको गम्भीर प्रकारका लक्षण देखिएको पनि जनाइएको थियो ।

जबकि अमेरिकामा २१ जनवरी २०२० मा मात्र पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएको थियो । तर, वैज्ञानिकहरुले ११ महीनापछि आएर अमेरिकाका तीन राज्यमा ३९ जना यस्ता व्यक्ति भएको उल्लेख गरेका छन्, जसको शरीरमा चीनमा संक्रमित भेटिनुभन्दा अघिबाटै कोरोनाभाइरसको एन्टिबडी थियो । उनीहरुको शरीरमा ३१ डिसेम्बरभन्दा दुई हप्ताअघि नै एन्टिबडी भएको पत्ता लागेको जनाइएको छ ।

त्यति मात्र नभइ १३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२० सम्म भएको रक्तदानका सहभागीमा पनि कोरोनाभाइरसको एन्टिबडी पाइएको छ । यो अवधिमा जम्मा सात हजार ३८९ जनाले रगत दिएका थिए । यीमध्ये १०६ जनाको रगतको नमूनामा कोरोनाभाइरसको एन्टिबडी फेला परेको छ । यसको अर्थ ती व्यक्ति संक्रमित भएर भाइरसलाई बाहिर पठाउन शरीरले एन्टिबडी बनाएको थियो । अध्ययनकाअनुसार क्यालिफोर्निया, ओरेगन र वाशिङ्टनमा यस्ता व्यक्ति भेटिएका छन् ।

त्यसैगरी म्यासाचुसेट्स, मिसिगन, रोड आइल्याण्ड र विस्कन्सिनमा जनवरी २०२० मा ६७ नमूना जम्मा गरिएको थियो । यी राज्यमा महामारीको प्रकोप बढ्नुअघि नै नमूना संकलन गरिएको हो । यीमध्ये धेरै व्यक्ति कोरोना संक्रमितको सम्पर्कमा पुगेको पनि पत्ता लागेको छ । अधिकांश पुरुष र औषत उमेर ५२ वर्ष थियो । कतिपयलाई त कोरोनाको लक्षण पनि थियो ।

रक्तदान कार्यक्रमको आयोजक रेड क्रसले भनेको छ कि रगतको नमूना लिइएकामध्ये करीब तीन प्रतिशतले मात्र केही समयअघि विदेश भ्रमणमा गएर फर्किएको बताएका थिए । भ्रमणमा गएकामध्ये पाँच प्रतिशतले मात्र उनीहरु एसियाका देशबाट फर्किएको बताएका थिए । योभन्दा अघि गरिएका केही अनुसन्धानमा पनि चीनभन्दा पहिले अरु देशमा नै कोरोनाभाइरस भेटिएको प्रमाण मिलेको थियो ।

फ्रान्सका वैज्ञानिकहरुले २७ डिसेम्बर २०१९ मा पेरिसनजिक एक बिरामीलाई निमोनियाको उपचार गरेका थिए । वास्तवमा ती व्यक्ति कोरोना संक्रमित थिए । चीनमा भन्दा तीन दिनअघि ती बिरामी फेला परेका थिए । त्यस्तै इटाली र स्पेनका अनुसन्धानकर्ताले शिविरको पानीको नमूनामा कोरोनाभाइरस भेटिएको जनाएका थिए । पानीको नमूना महामारी शुरु हुनुअघि नै लिइएको थियो ।

पछिल्लो अध्ययनबाट कोरोनाभाइरस अमेरिकाबाट फैलिएको भन्न नसकिने वैज्ञानिकहरुले बताएका छन् । योभन्दा धेरैअघिबाटै कोरोना मानिसमा फैलिएको हुनसक्ने संभावना भएको उनीहरुको भनाइ छ । तर, ३१ डिसेम्बर २०१९ मा चीनमा पहिलोपटक पत्ता लागे पनि त्यो पहिलोपटक मानिसमा भएको संक्रमण भने थिएन । यसको संक्रमण कहिलेबाट मानिसमा भयो भन्ने प्रश्नको जवाफ पाउन सजिलो नभएको वैज्ञानिकहरुले जनाएका छन् ।

प्रतिक्रिया