हुम्लामा बलेरो जिप दुर्घटना, चारको मृत्यु, सात घाइते

हुम्ला । गएराती हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुर्घटनामा बलेरो मुल सडकबाट ६ सय मिटर दक्षिणमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको बताएका छन् ।

जिप दुर्घटनामा परी एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेका छन् ।

तस्विर साैजन्यः नरजन तामाङ

दुर्घटनामा एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सोहि ठाउँका एक वर्षे बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने कवि सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार अहिले घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य छ ।

सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टका अनुसार जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । राति भएकाले उद्धारमा केही समस्या भएको थियो ।

प्रतिक्रिया