सि.वि.आई.एल क्यापिटले १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सि.वि.आई.एल क्यापिटलको १४ औं साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम दश प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष पारस कुमार काफ्लेको अध्यक्षतामा आज सम्पन्न चौधौं वार्षिक साधारण सभाले प्रस्तावित साधारण प्रस्तावहरु अन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तिय विवरण पारित गरेको छ ।

साधारण सभाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि लेखा परीक्षण समितिको सिफारिसमा साविकका लेखा परिक्षक सुबोध एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि–म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानी कर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.वि.आई.एल. क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको छ ।

यो कम्पनीमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ ।

प्रतिक्रिया