‘समयले हामीलाई चिन्दैन, हामीले समयलाई चिन्नुपर्छ’

  • सुजता लिम्बु

विराटनगर । ‘बिहान चार बजेदेखि सुरु हुन्छ मेरो दैनिकी,’ मासु काट्दै बोलिन्, देवीकुमारी चौधरी ।

‘पहिले, पहिले कुखुराको मासु पसल धेरै थिएन, व्यापार राम्रै हुन्थ्यो । आजभोलि मासु पसल बाक्लो छ खासै व्यापार छैन,’ उनले मुख खुम्च्याउँदै सुनाइन् । उनी तीन वर्षदेखि विराटनगर ८ अमर चौकको एउटा सटरमा मासु पसलको व्यवसाय गर्दै आइरहेकी छिन् । उनी मासुको व्यापारसँगै सिटि सफारी पनि चलाउँछिन् ।

‘कुखुराकाे मासु बेचेर नै मैले पोहोर साल सिटि सफारी किनेँ, आँफै कुदाउँछु’, उनले खुशी हुँदै सुनाइन् ।

कुरा गर्दागर्दै उनले दुईवटा कुखुरा बनाउन भ्याइन् । आउने ग्राहकलाई मासु तौलिँदै दिइन् । ‘बिहान एक समय ठुलो छोराले पसलमा सघाउँछ, त्यो बेला म सफारी लिएर बजार निस्किन्छु’, उभिरहेको छोरा तिर संकेत गर्दै उनले सुनाइन् ।

सटर अगाडी राखिएको सफारीतिर नजर लगाउँदै उनले भनिन्, ‘जाने मान्छे हुनुहुन्छ भने पसलमा नै आएर भन्नुहुन्छ अनि यात्रु लिएर उहाँहरुको गन्तव्यमा पुग्छु ।’

चोकैमा कर्कसलाग्दो आवाज छोडेर सवारी साधनहरु हुँइकिरहेका थिए । सटर वरीपरी सिसाको डेकुरेशन । एउटा फ्रिज । आउने ग्राहकहरुका लागि बाहिर नै उभिएर लिने व्यवस्था छ । श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडीमा छन् । देवीकुमारीले एक्लै चलाइरहेकी छिन मासु पसल ।

कोरोना महामारीका कारण श्रीमानको कमाइ भनेजस्तो छैन । मासु पसल, सफारीबाट आएको कमाइले तीन छोरासहित उनी आफू पालिएकी छिन् । ‘मासु पसलबाट दैनिक हजार, पन्ध्रसय नाफा बस्छ सफारीबाट पाँच सय जस्तो कमाइ बस्छ । जिन्दगी चलाउने बाटो मात्रै हो । कोठा भाडा तिर्दै ठिक्क छ,’ उनले आफ्नो दुःखको पोको फुकाउँदै सुनाइन् । छाक टार्ने संघर्षमै उनको दैनिकी गुज्रिएको छ ।

घरभित्रका उनका पारिवारिक सम्बन्ध जिम्मेवारीलाई पन्छाउँदै घर बाहिरका पेसा प्रतिको जिम्मेवारी पुरा गर्न भ्याइरहेकी छिन् । ‘समयले हामीलाई चिन्दैन, हामीले समयलाई चिन्नुपर्छ । म समय अनुसार नै काम गर्छु । त्यहि भएर सबैतिर भ्याइरहेकी छु ।
आखिर जीवन संघर्ष नै हो,’ मासुको पोको ग्राहकको हातमा थमाउँदै उनले मनका बह पाेखिन् ।

१२ बजेसम्म मासु पसलमा समय दिन्छिन् । १२ बजे पछिको समय ३ देखि ४ बजेसम्म सफारी लिएर विराटनगरको व्यस्त सडकमा व्यस्त रहन्छिन् उनी । साँझ परेपछि उनको सफारीले विश्राम लिन्छ अर्थात् उनी साँझमा यात्रु बोक्दिनन् । उनी भन्छिन्, ‘राती भएपछि म सफारी लिएर बाहिर निस्कन्नँ । जमाना खराब छ, त्यहि माथि म महिला गाह्रो हुन्छ ।’ 

दैनिक बढिरहेको महिला माथि हुने हिंसाको बारे उनी रेडियो/टेलिभिजन यात्रुहरुले गरेको कुराकानीको आधारबाट जानकार छिन् । उनी भन्छिन्, ‘एउटी महिलालाई खुलेर स्वतन्त्रपूर्वक काम गर्ने वातावरण नै छैन, के गर्नु ? समाचारमा छापिएको घटनाले मेरो आङ जर्किन्छ ।‘

काम गर्ने क्रममा उनी कुनै खालकाे हिंसामा परेकी छैनन् तर दैनिक महिलामाथि हुने हिंसा त्यसमा पनि बढ्दो बलात्कारको घटनाले उनको मनमा पनि डरले डेरा जमाएको छ । भन्छिन्- ‘घटना हुन नदिन आफू पनि सचेत रहनुपर्छ ।समय र जिम्मेवारी भुल्न हुँदैन र अपराधीलाई कानुलले कडा भन्दा कडा सजाय दिए हिंसा रोकिन्थ्यो होला ।’

प्रतिक्रिया