शीर्ष नेताहरुको विवाद तल्ला तहमा पनिः थापाथलीमा ओली इतरको भेला

काठमाडौं । सत्तारुढ नेकपाका शीर्ष नेताहरु भित्रको रडाँको अब कार्यकर्ता र भातृ संगठनसम्मै पुगेको छ । नेकपाका भातृ सँगठनहरुका नेता कार्यकर्ताहरुले पनि आ–आफ्नो भेला गर्न थालेका छन् ।

थापाथली क्याम्पसमा अपरान्हदेखि नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड तथा बरिष्ठ नेता माधबकुमार नेपाल पक्षधर विद्यार्थी नेताहरुको भेला छ ।

थापाथली क्याम्पसमा बागमती युवाहरुको भेला चलिरहेको छ । भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरेलगायत लगायत युवा तथा विद्यार्थी नेताहरुको उपस्थिती छ ।

भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीमा व्यक्ति पुजा गर्ने प्रवृत्ति त्याग्दै विधि र पद्दतिमा रहेर काम गर्नुपर्ने बताउँदै अरिङ्गाल जस्तो नभइ मौरीजस्तो भएर पार्टी एकतामा लाग्नुपर्ने धराणा राखिन् ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले केपी ओली नेतृत्वको सरकारले समाजवादको कुरा गरे पनि पुँजीवादलाई नै सहयोग पुग्ने काम गरिरहेको बताए । उनले सरकारका प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख नहेर्ने भाषण गरेपनि प्रधानमन्त्रीको वरिपरि भ्रष्टाचारी नै भ्रष्टाचारी रहेको दावी गरे ।

प्रचण्डले गत कात्तिक २८ गते सचिवालयमा पेस गरेको राजनीतिक प्रतिवेदनले नेकपालाई फुटको संघारमा पुर्याएको ओली पक्षले दावि गर्दै आइरहेका छन् । शीर्ष नेताहरुको शक्ति संघर्षले कम्युनिस्ट पार्टीलाई फुटको अवस्थामा पुर्याइरहेको आंकलन गरीएको छ ।

कात्तिक २८ गतेको प्रचण्डको राजनीतिक प्रतिवेदन पछि प्रधानमन्त्री ओलीले मंसिर १३ गते अर्को प्रस्ताव सचिवालयमा दर्ता गरेका थिए । उक्त प्रस्ताब कार्यकारी अध्यक्ष प्रचण्डको व्यक्तिगत जीवनसँग जोडेर आएको ओली इतरका नेताहरुको भनाई छ ।

अहिले दुबै प्रस्ताव सचिवालयमा छलफलका क्रममा रहेको भएपनि ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आएका छन् । यद्यपि, प्रचण्ड पक्ष प्रतिवेदन फिर्ता लिने पक्षमा छैन ।

नेकपामा ओली र दाहाल पक्षबीच कुरा नमिल्दा सचिवालय बैठकले कुनै निर्णय गर्न सकेको छैन । मंसिर १८ गतेका लागि डाकिएको स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ । सचिबालय बैठक २० गतेका लागि डाकिएको छ ।

प्रतिक्रिया