हिंसा न्यूनीकरणमा नेपाल दक्षिण एसियामै अग्रणी स्थानमा : मन्त्री लीलानाथ श्रेष्ठ

 

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले हिंसा न्यूनीकरणमा नेपाल दक्षिण एसियामै अग्र स्थानमा रहेको बताएका छन् ।

संघीय संसद् राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा बिहीबार भएको ‘लैङ्गिक हिंसा विरुद्धको अभियानमा तीनै तहका जनप्रतिनिधिहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

मन्त्री श्रेष्ठले महिलामाथि हुने लैङ्गिक हिंसा र बलात्कारलगायत यौनजन्य हिंसा न्यूनीकरणमा दक्षिण एसियामा नेपालमा राम्रो काम भइरहेको दाबी गरे ।

यस्तै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका बेला सरकारका मन्त्री श्रेष्ठले महिलाविरुद्धका घटना नेपालमा मात्रै बढेको नभएर संसारभर बढेकोसमेत बताएका छन् । उनले यस्ता घटना न्यूनीकरण गर्न सबैले लाग्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले भने, ‘लैङ्गिक हिंसा न्यूनीकरणमा नेपालमा दक्षिण एसियामा यो सवालमा राम्रो काम भइरहेको छ । विश्वमै घटनाहरू बढेको छ । नेपालमा मात्रै होइन संसारमै घटनाहरू बढे ।’

यस्तै मन्त्री श्रेष्ठले संविधान र कानुनमा लैङ्गिक हिंसा नरहेको बताए। ‘हाम्रो संविधानले सम्पूर्ण भेदभाव अन्त्य गर्ने भनेको छ, कानुनमा त्रुटि छैन, उनले थपे, ‘संघीय सरकारले चाहेर मात्रै हुँदैन, प्रदेश सरकार र स्थानीय तहले मात्रै चाहेर हुँदैन । हामी आफैँबाट सुरु गर्नुपर्छ ।’

लैङ्गिक हिंसा अन्त्यका लागि कानुन आवश्यक परेमा सरकार अध्यादेशमार्फत भए पनि ल्याउन तयार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । एसिड आक्रमणविरुद्ध अध्यादेश ल्याएको प्रसङ्ग उल्लेख गर्दै उनले बलात्कारका घटना मेलमिलाप गराउने प्रथा अन्त्य गर्नका लागि सरकारले अध्यादेश ल्याएको बताए ।

६ वर्षीय बालिका बलात्कृत भएका घटना सञ्चारमाध्यममा सुनेको उल्लेख गर्दै पीडकविरुद्ध कडा कानुन बनाएर व्यवहारमा लागु गर्नेपर्ने उनको भनाइ छ । ‘अहिले पनि कलंककोरूपमा नेपालमा देखिरहेका छौँ, ६ वर्षको बालिका बलात्कृत हुन्छ । त्यसकारण हामीले अझ कडाभन्दा कडा कानुन बनाएर व्यवहारमा लागु गर्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया