नेपालमा कोरोनाको दोस्रो लहर आउने खतरा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा. कार्कीले कोभिड-१९ संक्रमण दर नेपालमा घटेको दाबी गरे । उनले विश्वका कतिपय देशमा संक्रमणको दोस्रो लहर देखिएको सुनाउँदै नेपालमा पनि त्यो खतरा रहेको सुनाए ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै डा. कार्कीले नेपालमा संक्रमणको दर घट्नु भनेको खुशीको कुरा भएको जनाए । ‘​​सेकेण्ड वेभ आयो भने कसरी हामी जुध्ने भनेर दरिलो तयारी गर्नुपर्छ। हुन त कोभिड हामी सबैको लागि नयाँ कुरा भयो, अहिले कोरोना आएको पनि एक वर्ष पुग्न लाग्यो, यसबारेमा अझै धेरै जानकारी छैन’, उनले भने, ‘उपचारको सवालमा सरकारले क्षमता अभिवृद्धि गरिरहेको छ । सरकारले ६ हजार एचडियु निर्माणको लागि देशभर पैसा पठाएका छौं ।’

साक्षात्कारमा बोल्दै उनले कोभिडको उपचारको लागि सरकारले यथेष्ट बेड पनि छुट्याएको सुनाए । यसअघि १५ सय ९५ आईसियु बेड रहेकोमा अहिले २६ सय बेड फंक्सनमा रहेको पनि उनले जानकारी दिए । ‘अहिले हामीले भेन्टिलेटर बढाएका छौं । अक्सिनको सवालमा, सि-प्याब र बा-–प्यावको व्यवस्था भइराखेको छ । सेकेण्ड वेभ आयो भने त्यसलाई धान्नेगरि हामीले अस्पताल प्रणाली र उपचार प्रणाली व्यवस्था गरिरहेका छौं’, उनले भनेका छन् । अस्पताललगायतका भौतिक संरचना निर्माणका साथै दक्ष जनशक्तिको लागि पनि सरकारले विशेष ध्यान दिएको उनको भनाई छ । उनले भने,‘एचडियु, सि-प्याब, बाई-प्याबको लागि दुई सय पचास बढी डाक्टरलाई तालिम दिने काम भएको छ ।’कार्कीले सरकारले तीन सय ९६ वटा आधारभूत अस्पतालको यही मंसिर १५ गते शिलान्यास गरिसकेको जनाउँदै यो महत्वपूर्ण उपलब्धि भएको सुनाए ।  उनले भने,‘हामीले आधारभूत अस्पतालको शिलान्यास मात्रै गरेका छैनौं, चाहिने बजेट पनि पक्का गरेका छौं । दुई वर्षभित्र सबै अस्पताल बन्छन्। यसको लागि करिब ५८ अर्ब बजेट पठाइएको छ ।’

त्यस्तै, रोग नियन्त्रण केन्द्र निर्माणको लागि पनि कानून बनाउने प्रक्रियाको थालनी गरिएको कार्कीको भनाई छ । मास्क र पिपिई क्वालिटीको मात्रै उपलब्ध गराउने र अस्पतालहरुलाई पनि आईएसओ, एफिलिएशन र एक्रिडिएशन दिने चलन नभएको सुनाउँदै अब गुणस्तरीय बनाउन पनि प्रत्यांग प्राधिकरण स्थापनाको थालनी गरिएको उनले सुनाए ।

भौतिक संरचना बनाउने काम मात्रै नभएर सरकारले दक्ष जनशक्तिको लागि पनि आवश्यक कदम चालेको कार्कीले जनाए । ‘यसको लागि सरकारले ठूलो लगानी गर्दैछ । दक्ष जनशक्तिलाई दुर्गममा गएर सेवा दिनको लागि हामीले प्रोत्साहन गरिराखेका छौं । कतिपय सांसदज्यूहरू आउनुहुन्छ , उनले भने, ‘उहाँहरुले मेरो क्षेत्रमा दक्ष चिकित्सक नै छैनन् भन्नुहुन्छ, फेरि उहाँहरु नै आफ्नो नातेदार चिकित्सक भए काठमाडौंमा नै राखिदिन भन्नुहन्छु । प्रेसर दिनुहुन्छ ।’

कार्कीले विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराइने विश्वास दिलाए । उनले भने, ‘अरु देशका नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाउने बित्तिकै नेपाली नागरिकले पनि लगाउने गरि हामीले तयारी थालेका छौं ।’

प्रतिक्रिया