मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको विशेष सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् । डिसेम्बर ३ र ४ तारिखमा हुने महासभालाई प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने भएका हुन् ।

सो विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च अधिकारी र भ्याक्सीनको विकास गरिरहेका कम्पनीका प्रमूखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोभिड–१९ को महामारी र यसले पारेका प्रभावहरुको बारेमा सम्बोधन गर्नु नै महासभाको मुख्य उद्देश्य रहेको छ । सो महासभामा प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको भिडियो रेकर्ड गरेर महासभा पुर्‍याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रिपरिषदको वैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको थियो । ओलीले महासभाको पहिलो दिन नै सम्बोधन गर्नेछन् । उक्त महासभामा १४१ वक्ताहरु रहने छन् । त्यसमध्ये ५३ राज्यप्रमुख, ३९ सरकार प्रमुख र ४ उप्रधानमन्त्री र ३८ जना मन्त्रीहरु रहेका छन् ।

सरकारको चर्को विरोधपछि कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

नेकाका बरिष्ठ नेता रामचन्द्र पौडेल। फाइल फोटो।

तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । गिरफ्तारीलगत्तै पौडेललाई रिहा गर्न माग गर्दै सरकारको चर्को विरोधपछि नेता पौडेलसहित पक्राउ परेका सबैलाई रिहा गरिएको हो ।

नेता पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको झन्डै तीन घन्टापछि रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले पौडेलसहित आफूहरुलाई रिहा गरिएको बताएका छन् ।

पौडेललाई रिहा गरिएसँगै दमौली क्षेत्रमा गरिएको पृथ्वी राजमार्गको अवरोध पनि रातिदेखि हट्ने भएको छ ।

राजस्व छल्ने ५ फर्मविरुद्ध ४१ करोडको मुद्दा दायर

झुट्टा तथा नक्कली मूल्य अभिबृद्धकर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा ५ कम्पनीका सञ्चालक, प्रोप्राईटर विरुद्ध मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले ४१ करोड रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय समेत मागदावी गरी एकैदिन पाँच वटा कम्पनी विरुद्ध मुद्दा दर्ता गरेको हो ।

विभागले बुधबार झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने उदयपुर जिल्ला त्रियुगा नगरपालिका १२ स्थित राउत ट्रेड कन्सर्नका प्रोप्राईटर कमल बहादुर राउत समेत २ जनाबाट ४ करोड १६ लाख ४६ हजार १६२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको जनाएको छ ।

विभागले दोलखा जिल्ला तामाकोशी गाउँपालिका स्थित पि.आर. के. ट्रेड ईन्टरनेशनलका प्रोप्राईटर लहुमन माझीबाट पाँच करोड ५६ लाख ८ हजार ७३८ विगो असुल गरी जरिवाना र कैद माग दावी मुद्दा दर्ता गराएको छ । यस्तै बारा जिल्ला परवानीपुर स्थित मिनजा इन्टरनेशनल प्रा.लि. का सञ्चालक रामवावु साहानीबाट २ करोड १९ लाख १२ हजार ३९ विगो असुल गरी जरिवाना र कैद मागदावी सहित मुद्दा दर्ता गरिएको छ ।

यता पर्सा वेलवा गा.बि.स. ३ स्थित क्रेटा इन्टरप्राइजेजका प्रोप्राईटर नबिकरिम अन्सारी समेत ३ जनाबाट ८ करोड २४ लाख ६० हजार ७६५ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मुद्दा दर्ता गराएको विभागले जानकारी गराएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने धनुषा, रघुनाथपुर स्थित करदाता रमण कन्स्ट्रक्सन प्रा.लि. लाई २० करोड ८७ लाख ६४ हजार ६२९ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

‘भोलि नेकपा स्थायी कमिटीको बैठक बस्दैन’

तस्विर : रासस

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको दरारपन झनै बढ्दै गइरहेको छ । केन्द्रीय सचिवालयमै स्पष्ट दुई कित्तामा उभिएका सदस्यहरुबीचको तिक्तताका कारण नेकपा विवाद झनै पेचिलो बनेको हो ।

परिणामतः अहिलेसम्म बसेको कुनै पनि सचिवालय बैठकमा कुनै खालको सहमति जुट्न सकेको छैन । खासगरी दुई अध्यक्षबीच नै आरोप प्रत्यारोपको शृङ्खला बढेपछि थप जटिल बनेको नेकपा विवाद अहिले ‘मर किन मार’को स्थितिमा पुगेको छ ।

पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह
पशुपतिनाथ मन्दिरमा वातावरणमैत्री शवदाह गृह बनेको छ । एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको हो ।

यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जस्ले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटाई प्रदूषण नियन्त्रण गर्न सहयोग गर्नेछ ।

यसका साथै यो शवदाहगृहमा शव जलाउन पनि कम समय लाग्नेछ । पशुपति विकास कोषका अनुसार यो शव दाह गृहमा एकदेखि सवा घण्टामा शव जलाइसकिन्छ । अहिले भष्मेश्वरघाटतिर भएका घाटमा एउटा शव जलाउन कम्तीमा तीन साँढे तीन घन्टा लाग्छ ।

प्रधानमन्त्री सहभागी नभएपछि सचिवालय बैठक २० गतेसम्मको लागि सर्‍यो

बुधबार (आज)का लागि बोलाइएको बैठक आउँदो २० गते बस्नेगरी सकिएको छ । पूर्वनिर्धारित समयानुसार आजै १ बजे बस्ने भनिएको बैठक २ बजेका लागि सारिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको बैठक आउँदो २० मंसिरमा बस्नेगरी सकिएको हो । बैठक प्रधानमन्त्री सहभागी नभएपछि स्थगित भएको हो ।
यसअघि हिजैको बैठकमा आजको बैठकमा उपस्थित नहुने बताएका ओली आजको बैठकमा उपस्थित नभएका हुन् ।

यसअघि उनका विश्वासपात्र तथा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ्गले भने ओली बैठकमा उपस्थित हुने बताएका थिए ।

राष्ट्र बैंकले बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्ने
नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।

केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तिय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ । बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेख छ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तिय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड गरिनेछ ।

निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितीका दिन निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ । केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ ।

चिनियाँ अन्तरिक्ष यान चन्द्र सतहमा पुग्यो, ढुंगा र माटो ल्याउने प्रयास

चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ । उसको रोबोटिक चाङ्ग-अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो ।

चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान तथा धूलो सङ्कलन गरेर पृथ्वीमा फर्कनु हो । उसको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताउनेछ । ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडार जस्ता यन्त्र जडित छ ।

उसले भुइँबाट ढुङ्गा वा धूलो उठाएर करिब दुई किलो सामानलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ जसले त्यसलाई पृथ्वीमा फर्काउनेछ ।

एकले अर्कालाई नाङ्गै बनाउने कुरामा म सहमत छैनः गोकुल बाँस्कोटा

गोकुल बाँस्कोटा। फाइल फोटो

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना दिवस’ कार्यक्रममा उनले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घसम्म पर्याप्त अवसर र मौका दिएको बताए ।

त्यसलाई पूर्णता दिनका लागि अगाडि बढ्नुपर्ने बेलामा पार्टीभित्र यदुवंशीको तरिका निकालेर एकले अर्कालाई नाङ्गै बनाउने गरी जाने कुरा भएकामा त्यसप्रति आफ्नो असहमति रहेको उनले भने । अहिले देखिएको विवाद विवादका लागि मात्रै नभएर युगको दायित्व बुझ्न र शहीदको रगत, जनआन्दोलनका घाइतेहरुको घाउ, पीडाको चित्कार सम्झँदै समग्र जनताको सपनालाई साकार पार्नका लागि राष्ट्रिय स्वाधीनता र स्वतन्त्रा सम्झेर युगीन अभिभारालाई पूरा गर्न सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

एक खेल बाँकी हुँदै लिभरपुल अन्तिम १६ मा

इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । गएराति भएको खेलमा डच क्लब आयाक्समाथि १-० को साँघुरो जित निकाल्दै लिभरपुल अन्तिम १६ मा पुगेको हो ।

उसले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्को साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफका गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा एक गोल गरेको हो । खेलको ५८ औं मिनेटमा लिभरपुलका लागि कर्टिस जोन्ले निर्णायक गोल गरे ।

लिभरपुलले पाँच खेलबाट १२ अंक जाडेको छ । अजाक्सको सात अंक छ। समूह डी अन्तर्गत गएराति भएको अर्को खेलमा एफसी मिड्ट्जील्याण्डले एट्लान्टासँग १–१ को बराबरी खेलेको छ ।

ट्रम्पलाई अर्को झट्काः महान्यायाधीवक्ताले भने- ‘धाँधलीको प्रमाण भेटिएन’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचनमा धाधली भएको विषयमा आफ्नै सहयोगी महान्यायाधिवक्ताबाट असहयोग भएको छ । महान्यायाधिवक्ता विलियम वारले निर्वाचनमा धाधली भएको कुनै प्रमाण नभेटिएको बताएसँगै ट्रम्पलाई गहिरो झट्का लागेको हो ।

महान्यायाधिवक्ता विलियमले भनेका छन्, ‘अहिलेसम्म चुनावमा धाधली भएको कुनै प्रमाण भेटिएको छैन, जसले चुनावलाई प्रभावित गरेको होस् ।’ अहिलेसम्म निर्वाचनको परिणाम स्वीकार नगरेका ट्रम्पलाई महान्यायाधिवक्ताको यो भनाईले गहिरो झट्का लागेको विश्लेषण गरिएको छ ।

ट्रम्प र उनको क्याम्पियनले आफु हारेका राज्यमा चुनावमा धाधली भएको भन्दै मुद्धा दायर गरेका छन् भने कैयौ राज्यका अदालतले ट्रम्पको मुद्धा खारेज गरिसकेका छन् । त्यस्तै कैयौं राज्यले जो बाइडेन निर्वाचित भएको भन्दै निर्वाचन परिणाम प्रमाणित समेत गरिरहेका छन् ।

प्रतिक्रिया