सरकारको चर्को विरोधपछि कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

काठमाडौँ । तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । गिरफ्तारीलगत्तै पौडेललाई रिहा गर्न माग गर्दै सरकारको चर्को विरोधपछि नेता पौडेलसहित पक्राउ परेका सबैलाई रिहा गरिएको हो ।

नेता पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको झन्डै तीन घन्टापछि रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले पौडेलसहित आफूहरुलाई रिहा गरिएको बताएका छन् ।

बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको थियो। नेता पौडेल पक्राउ परेको विषयको चौतर्फी विरोध भएको थियो । नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई बोलाएका थिए।

तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन नेता पौडेलले गर्ने कार्यक्रम तय भएको थाहा पाएपछि जिल्ला प्रशासनले पुलको उद्घाटन रोक्न भनेको थियो। झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासनले पुल उद्घाटनमा अवरोध गरेको कांग्रेसको आरोप छ। कांग्रेसले पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले राज्यको शक्ति दुरुपयोग गरेको आरोपसमेत लगाएको छ।

नेता पौडेल पक्राउ परे लगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले नेता पौडेल तत्काल रिहा नगरे परिस्थितिको सामना गर्न सरकारलाई तयार भएर बस्न चेतावनीसमेत दिएका थिए। पौडेल पक्राउ परेको विरोधमा कांग्रेस नेताले सामाजिक सञ्जालमा सरकारको चर्को लोचना गरेका छन्।

नेता पौडेलले आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको बताएका छन्।

पौडेललाई रिहा गरिएसँगै दमौली क्षेत्रमा गरिएको पृथ्वी राजमार्गको अवरोध पनि रातिदेखि हट्ने भएको छ ।

प्रतिक्रिया