पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह

काठमाडौं । पशुपतिनाथ मन्दिरमा वातावरणमैत्री शवदाह गृह बनेको छ । एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको हो ।

यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जस्ले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटाई प्रदूषण नियन्त्रण गर्न सहयोग गर्नेछ ।

यसका साथै यो शवदाहगृहमा शव जलाउन पनि कम समय लाग्नेछ । पशुपति विकास कोषका अनुसार यो शव दाह गृहमा एकदेखि सवा घण्टामा शव जलाइसकिन्छ । अहिले भष्मेश्वरघाटतिर भएका घाटमा एउटा शव जलाउन कम्तीमा तीन साँढे तीन घन्टा लाग्छ ।

नवनिर्मित वातावरणमैत्री शव दाह गृहमा शव जलाउँदा १०० देखि १५० केजी दाउरा मात्र लाग्नेछ । हाल भष्मेश्वर र आर्यघाटमा शव जलाउँदा कम्तीमा ४०० केजी दाउरा लाग्ने गरेको छ ।

आर्यघाट र भष्मेश्वर घाटमा १८, विद्युतीय शवदाह गृहमा दुई, वातावरणमैत्री एक गरी तीनवटा शवदाह गृह सञ्चालनमा छन् । विद्युतीय शवदाह गृहमा एउटा यन्त्र थप्ने तयारी भइरहेको पशुपति विकास कोषले जनाएको छ ।

अहिले कोरोना भाइरसबाट निधन भएकाको शव विद्युतीय शवदाह गृहमा जलाउने गरिएको छ ।सञ्चालनमा आएको वातावरणमैत्री शवदाह गृहमा पनि कोरोनाबाट निधन भएकाको शव जलाउने तयारी छ ।

उक्त शवदाह गृहको संस्कृति, पर्यटन तथा नागरिक उद्दयन मन्त्री योगेश कुमार भट्टराईले आज उद्घाटन गरे । सो अवसरमा बोल्दै पर्यटनमन्त्री भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको बताए ।

प्रस्तावित गुरुयोजनालाई अन्तिमरुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको समेत मन्त्री भट्टराईले जनाए । गठित समितिले स्थानीयवासीलगायत सरोकार निकायसँग छलफल गरी तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउने छ ।

‘सरकारले स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खुला गर्ने निर्णय गरेको छ, कोरोना सङ्क्रमण नफैलने गरी कोषले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउनेछ ।’ उनले भने ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रमा शवदाह गर्नेको सङ्ख्या बढ्न थालेकाले विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा शवदाह गृह बढाउन लागिएको बताए ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिक्रित जि.के. नेगीले पशुपती क्षेत्र विकास कोषका सदस्यसचिव डा। ढकाललाई शवदाह गृह हस्तान्तरण गरेका थिए । बैंकले सधैं संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको बताउँदै यसको सी.एस.आर गतिविधिहरू अन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको नेगीले बताए ।

बैंकले यसअघि पोखरा र भैरहवामा पनि शवदाह गृह निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया