आयुर्वेद हेल्थ होमले तीन दिन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं । आयुर्वेद हेल्थ होम प्रा.लि.ले यही मंसिर १९ गतेदेखि २१ गतेसम्म ३ दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । स्वास्थ्य शिविरमा निम्न स्वास्थ्य समस्याहरुको विशेषज्ञ डाक्टरहरुले विशेष परामर्श दिने कम्पनीले जानकारी दिएको छ ।

शिविरमा मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडाहरु दुख्ने समस्या, पेट र पाचन सम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुलालगायतका समस्या भएका बिरामीले विशेग परामर्श लिन पाउनेछन् ।

त्यसका साथै रुघाखोकी, टन्सिल, श्वासप्रश्वासमा समस्या, दमआदिका रोगीले पनि परामर्श लिन पाउनेछन् । स्वास्थ्य शिविरमा बालबालिका एवम् महिलाका रोगहरु, यौन सम्बन्धि समस्याका साथै मानसिक तनाव व्यवस्थापन एवम् मनोवैज्ञानिक समस्याहरुको समाधानमा जोड दिइनेछ ।

त्यसका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमजोरीबाट उत्पन्न हुन सक्ने रोगका बारेमा तथा स्वस्थ्य जीवनशैली सम्बन्धि विशेष परामर्श उपलब्ध हुनेछ । कम्पनीले त्यसबाहेक अन्य विभिन्न प्रकारका स्वास्थ्य समस्यासँग सम्बन्धित रोगका बारेमा शिविरमा परामर्श उपलब्ध हुने जानकारी दिएको छ ।

शिविरमा आयुर्वेद उपचारमा अनुभवप्राप्त विशेषज्ञ डाक्टरहरु डा. संगिता महर्जन, डा.व्योम कोइराला, तथा डाक्टरहरु डा.रुमी तण्डुकार, डा.सबिना खड्का, डा.ऋषभ कोइरालाले स्वास्थ्य परीक्षण गर्नेछन् । कम्पनीले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनबाट निर्देशित सावधानी र अत्यावश्यक सुरक्षाका विधिहरु पालना गरी शिविर आयोजना गर्न लागेको हो ।

आयुर्वेद हेल्थ होमले विगत २० वर्षदेखि शरीर, इन्द्रियहरु, मन एवम् पञ्चकर्म र योग उपचारका विविध उपक्रमहरुबाट १२२ देशका नागरिकलाई आयुर्वेद उपचारको सेवा दिँदै आएको छ । यस संस्थाले नेपालमा हेल्थ टुरिजमको विकाशमा अझै योगदान पुर्याउने लक्ष्य राखेको छ ।

कम्पनीले आफ्नो नयाँ बिस्तारिक संरचना आयुर्वेद हेल्थ होम रिसोर्ट प्राकृतिक मनोरन छटाले भरिएको ‘नागार्जुन’ काठमाडौंमा शुरु गर्ने जानकारी दिएको छ । जुन ३० रोपनी क्षेत्रफलमा अवस्थीत छ ।

यस विस्तारित आयुर्वेद हेल्थ होम रिसोर्टले ८० भन्दा बढिको संख्यामा रोजगारीको अवसर दिने छ । संस्थाको आफ्नै जडिबुटीको गार्डेन र औषधी प्रशोधन गर्ने युनिट पनि रहेको छ ।

प्रतिक्रिया