बेलायतले सुरु गरेको अंकमा आधारित भिसा प्रणालीले नेपालीलाई कति फाइदा ?

एजेन्सी । विश्वभरबाट दक्ष तथा योग्य कामदार भित्र्याउन बेलायत सरकारले हिजो डिसेम्बर १ देखि अंकमा आधारित भिसा प्रणाली सुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरबाट दक्ष कामदार भित्र्याउन नयाँ प्रणाली सुरु गरेको अधिकारीहरुले जनाएका छन् ।

अंकमा आधारित भिसा प्रणालीमा ईयू मुलुकका नागरिक लगायत सबै विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस व्यवस्था अनुरुप आउँदो जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि विश्वभरका दक्ष कामदारलाई अनुमति दिइनेछ ।

बेलायतले अंकमा आधारित भिसा पाउन अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

बेलायती अधिकारीका अनुसार दक्ष कामदार भिसाका लागि रोजगारदाताबाट जागिरको अफर, अंग्रेजी भाषामा दक्ष र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड हुनुपर्ने अनिवार्य गरेको छ ।

आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यता प्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्नेछन् । आवेदकले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनु पर्नेछ ।

भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हेल्थकेयर सरचार्ज ६२४ पाउण्ड (प्रतिवर्ष) र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्ने भनिएको छ । आवेदकलाई सबै प्रक्रिया पूरा गरेपछि भिसाको निर्णय तीन साताभित्र दिइने भनिएको छ । जारी भिसा अवधि ५ वर्षसम्म हुने बेलायती सरकारले जनाएको छ ।

बेलायती सरकारको नयाँ घोषणाले नेपालबाट पनि दक्ष जनशक्ति बेलायत आउने बाटो खुलेको छ । ईयूसँग अलग्गिएपछि बेलायतले दक्ष जनशक्ति अभाव पूरा गर्न यो रणनीति ल्याएको हो ।

बेलायती गृहमन्त्री प्रीति पटेलले सरकारले ईयूसँग खुल्ला आवतजावत अन्त्य, आफ्नो सीमा नियन्त्रण फिर्ता र नयाँ अंकमा आधारित अध्यागमन प्रणाली लागू गर्ने प्रतिज्ञा पूरा गरेको जनाएकी छन् । ‘सामान्य, प्रभावकारी र लचिलो यो प्रणालीले रोजगारदातालाई आवश्यकता अनुसार दक्ष जनशक्ति भर्ना गर्न र बेलायतको ‘वर्क फोर्स’ लाई प्रशिक्षित र लगानी गर्न प्रेरित गर्ने छ ।’ एक विज्ञप्ति जारी गर्दै उनले भनेकी छन् ।

३१ डिसेम्बरमा ब्रेक्जिट (बेलायत ईयूबाट बहिगर्मन) को संक्रमणकालीन अवधि अन्त्यसँगै बेलायत ईयू खुल्ला आवतजावत बन्द हुँदैछ । १ जनवरीदेखि युरोपेली र अन्य मुलुकका नागरिकका लागि समान अध्यागमन नियम लागू हुनेछ । बेलायत ईयू सदस्य हुँदा युरोपेली नागरिकलाई बेलायतमा चाहेजति बस्न र काम गर्न अधिकार थियो । अब त्यो पूर्णतः बन्द हुने छ ।

बेलायती सरकारले भिसाका अरु रुट पनि खुल्ला गरिएको जनाएको छ ।

मेडिसिन, इन्जिनियरिङ, विज्ञान, प्रविधि, मानवशास्त्र, कला र संस्कृतिका क्षेत्रमा असामान्य प्रतिभा भएका व्यक्तिलाई ग्लोबल ट्यालेन्ट भिसा र व्यवसायिक दक्षता एवं नयाँ सिर्जनात्मक सोच भएका व्यक्तिलाई इनोभेटर र स्टार्ट अप भिसाको रुट खोलिएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने गत ५ अक्टोबर, २०२० मै बेलायत खुल्ला भइसकेको छ ।

प्रतिक्रिया