‘फागुनमै ७ गते नै महाधिवेशन गर्न सकिन्छ’ पौडेल

तनहुँ । फागुनमा गर्ने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भइरहँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन ७ मै महाधिवेशन गर्न सकिने बताएका छन् । पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिने हो भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै १४ औं महाधिवेशन गर्न सम्भव हुने पौडेलको भनाई छ ।

आज विहान तनहुँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले क्रियाशील सदस्यताको सूची पाएको डेढ महिनाभित्र महाधिवेशन गर्न सकिने जिकिर गरे  । ‘क्रियाशिल सदस्यता वितरण गरिएको डेढ महिनामा महाधिवेशन गर्न सकिन्छ । तोकिएकै समयभित्र महाधिवेशन गर्नुपर्छ, पार्टीलाई संकटतर्फ जान दिन हुन्न ।’ पौडेलले भने ।

यसअघि बसेको कांग्रेस केन्द्रीय समितिले मंसिरभित्र क्रियाशील सदस्यता वितरण गरिसक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको भएपनि समायोजन नसकिएको भन्दै केही जिल्लामा कांग्रेसले क्रियाशील नवीकरण र वितरण गर्न सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकाल फागुनमा सकिँदैछ । त्यसपछि महाधिवेशन गर्ने हो भने कार्यकाल बढाउनुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसले संविधानको सहारा लिनुपर्ने हुन्छ ।

देउवा सकेसम्म मंसिरमैै महाधिवेशन नहोस् भन्ने पक्षमा रहेको पौडेलको भनाई छ । अहिलेको कोरोना संक्रमणको जोखिमले गर्दा पनि फागुनमा महाधिवेशन हुन नसक्ने देउवाको तर्क छ । तर, कांग्रेसका अधिकांश नेताहरु फागुन पहिलो हप्ता नै महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

कांग्रेसभित्र रामचन्द्र पौडेलसँगै, डा. शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेल लगायत दोस्रो तहका नेताहरु समयमै महाधिवेशनको पक्षमा छन् ।

प्रतिक्रिया