गलैंचा कारखानाका ठेकेदारले काम गर्ने मजदुर मारेको आरोप, तीन पक्राउ

काठमाडौं । काठमाडौंको एक गलैंचा कारखानामा कार्यरत मजदुरलाई कारखानाका ठेकेदारले नै हत्या गरेको मजदुरका आफन्तले आरोप लगाएका छन् । काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ भोलडाँडामा रहेको गलैंचा कारखानाका ठेकेदारले घर गएका कामदारलाई ल्याएर कारखाना भित्रै मारेको पिडीत परिवारले आरोप लगाएको हो ।

मकवानपुर बकैया गाउँपालिका–४ का कुमार जिम्बा हिजो सोमबार कारखानाभित्रै मृतः अवस्थामा फेला परेका थिए । गोकर्णेश्वर–६ स्थित सुमन कार्पेटमा करिब ९ वर्षदेखि कार्यरत कुमार जिम्बा कारखानाको गलैंचा बुन्ने स्थलमै झुण्डिएको फेला परेका थिए । मृतक झुण्डिएको अवस्था हेर्दा हत्या गरेको आफन्तले देखिने आरोप लगाएका हुन् ।

मृत व्यक्ति कुमार जिम्बा दसैं अगाडी मकवानपुर घर गएको बेला कारखानाको ठेकेदार रोशन थोकरले केटाहरु पठाएर मोटरसाइकलमा उठाएर ल्याएको मृतककी श्रीमती ‘असली लो’ले बताइन् । शनिबार कारखाना ल्याइएका जिम्बा सोमबार विहान कारखानाभित्रै झुण्डिएको अवस्थामा फेला परेको भएपनि झुण्डिएरै मरेको भन्ने अवस्था नभएको मृतककी श्रीमतीले भनिन् ।

मृतक जिम्बा सोहि क्षेत्रमा कोठा भाडा लिएर बस्ने गर्दथे । आइतबार साँझ कोठामा खाना खाइरहेको बेला श्रीमानलाई कारखानाका ठेकेदारले बोलाएर लगेको तर, विहानसम्म कोठामा नआएपछि सोधखोज गर्दा ठेकेदारको श्रीमतीले कारखाना तर्फ हातले इशारा गर्दै झुण्डिइरहेको श्रीमानलाई देखाएको मृतककी श्रीमती लोले बताइन् ।

ठेकेदारको श्रीमतीले मृतकको श्रीमतीलाई कोठामा नै झगडा परेर आफुले ४–५ लौरो हिर्काएको भन्न समेत आग्रह गरेकोे बताइन् । उनले आफ्ना श्रीमानको हत्या नै भएको भन्दै अनुसन्धान गरी हत्यारा पत्ता लगाउन महानगरीय प्रहरी बौद्ध बृत्तमा जाहेरी दिएकी छन् । ठेकेदारकी श्रीमतीले पनि प्रहरीसँग बयानका क्रममा आफुले कुटपीट गरेको स्विकार गरेकी छन् ।

बौद्ध बृत्तका डिएसपी नविन कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानले आत्महत्या भएको वा हत्या भएको खुल्न नसके पनि पिडीत पक्षले सामान्य जाहेरी दिएकाले अनुसन्धान भइरहेको बताए । उनले कारखानाका ठेकेदार रोशन थोकर र उनकी श्रीमती र कारखानाका मास्टरसमेतलाई पक्राउ गरिएको जानकारी दिए । ‘तीन जनालाई अनुसन्धानका लागि पक्राउ गरीएको छ, पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र हत्या भएको नभएको यकीन गर्न सकिन्छ ।’ डिएसपी कार्कीले मकालु खबरसँग भने ।

यता मृतकका काका विजय जिम्माले कारखानाबाटै मान्छे गएर गाउँबाट अपहरण शैलीमा ल्याएर मारी कारखानामा झुन्ड्याएको आरोप लगाए । ‘झ्ुण्डिएको लाश हेर्दापनि आफैं मरेको भन्न मिल्दैन । खुट्टा टेकेको छ, आँखाको छेउमा चोटपटक छ,’ उनले भने ।

मृतकका श्रीमती असली लोले आफ्नो श्रीमानलाई गाउँमा रहेको बेला मान्छे पठाएर काठमाडौं ल्याइ मारेको आरोप लगाएकी छन् । उनले गलैचा कारखानाका ठेकेदार रोसन ठोकर र उनकी श्रीमतीले पिटेर मारेको आरोप लगाएकी छिन् । ‘ठेकेदार र उसको श्रीमतीले विहानै आएर कारखानामा केही झगडा नभएको भन्न दवाव दियो ।’ प्रहरीको प्रारम्भिक बयानमा श्रीमतीले भनेकी छन् ।

मृतक जिम्बा लामो समयदेखि त्यही कारखानामा काम गर्दै आएका थिए । उक्त कारखानामा त्यस्तो घटना भइरहने गरेको स्थानीयहरुले बताएका छन् । स्थानीयहरुको भनाई अनुसार कारखाना ठेकदारले गाउँघरबाट कामदार ल्याएर उनीहरुलाई यातनापूर्वक काममा लगाउने गर्दथे ।

 

प्रतिक्रिया