किन हुन्छन् बारम्बार प्याराग्लाइडिङ दुर्घटना ?

पाेखरा । कोरोना भाइरस महामारीका बीच पनि आन्तरिक पर्यटकले असाध्यै रुचाएको प्याराग्लाइडिङ भीड सराङकोटको डाँडोमा धानीनसक्नु भइरहेको छ । यस्तो अवस्थामा ८ मंसिरमा भएको प्याराग्लाइङिले दुर्घटनाले आकाशमा उड्न चाहानेहरूलाई त्रसित बनाएको छ । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुई दशक (१९९९) नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । यसअघिका दुर्घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलटहरू दुर्घटनामा पर्ने गरेका थिए । तर, यसपालि भने अनुभवी टेन्डम पाइलटको नै ज्यान गयो । गत सोमबारको दुर्घटनामा परेका प्यारापाइलट राजु गैरे नेपाली (३८) अनुभवी पाइलट भएका उनका सहकर्मीहरू बताउँछन् ।

विगत आठ वर्षदेखि पोखराको आकाशमा उडिरहेका हिमालय स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं प्यारापाइलट माधव तिवारीले पाइलटले आफ्नो अनुशासन र उडानका नियम बाहिर जाँदा दुर्घटना हुने बताए । उनले भने, ‘सामान्य अवस्थामा दुर्घटना हुँदैन, कहिले काही मौसमको खराबी हुन सक्छ, नत्र उडान सुरक्षित नै हुन्छ । उडानको समयमा के गर्ने के नगर्ने नियमहरू हुन्छन् । ओभर कन्फिडेन्स भएर नियम विपरितका गतिविधि नै दुर्घटनाका कारण हुन् ।’

तिवारीले पाइलट नै बढी संवेदनशील भएर उडान गर्नुपर्ने बताए । उनले भने, ‘उडानबाट यात्रुलाई मनोरञ्जन दिने हो तर कतिपय पाइलट साथीहरू आकाश उडिरहेको बेला अन्य गतिविधि गर्दै सुरक्षा संवेदनशीलता बेवास्ता गर्न पुग्नुहुन्छ ।’ उनले उडान समयमा फूल पात टिपेर दिने गर्दा दुर्घटना निम्ति सक्ने भएकाले यस्तो गतिविधिलाई रोक्नुपर्ने उनको भनाइ छ ।

अर्का अनुभवी पाइलट दूर्योधन खड्काले साहसिक खेलमा जोखिम मोल्नुपर्छ भन्ने मानसिकताले पनि कतिपय अवस्था नियन्त्रण बाहिर जाने गरेको बताए । ‘कोही कोही यात्रुले अलि बढी जोखिम मोल्न रुचाउने र पाइलटलाई अलि प्रेसर दिने गर्छन । यात्रुको सबै अवस्थालाई स्वीकार्नु पर्छ भन्ने हुँदैन, पाइलटले पनि जोखिमको अवस्थालाई आँकलन गर्न सक्नुपर्छ ।’ उनले कहिलेकाही टेकअफ गर्दा यात्रु नियन्त्रणमा नहुने गर्दा पनि दुर्घटना हुन सक्ने तर हावामा उडिसकेपछि सामान्य अवस्थामा दुर्घटना हुने सम्भावना न्यून हुने उनको अनुभव छ ।

हवाई खेलकूद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारी पनि उडानमा समयमा फूल, पात टिप्ने र पानी छुने जस्ता गतिविधिले हुने गरेको सुन्नमा आएकाले अब यस्ता गतिविधिमा रोक लगाइने बताए । ‘८ मंसिरको दुर्घटनाको विषयमा छानबिन समिति गठन भएको छ । एक महिनामा सत्यतथ्य बाहिर आउला, पछिल्लो समय आकाशमा फूल टिप्ने दिने गतिविधि बढेको भन्ने सुनिएको छ । यसमा अब नियन्त्रण हुन्छ’ उनले भने । प्याराग्लाइडिङ उडानो दुई दशकमा व्यावसायिक उडानबाट चार पाँच वर्ष अघि एक जना यात्रुको र अहिले पाइलटको ज्यान गुमाएको उनको भनाइ छ ।

उनको अनुसार २०५९ मा हवाइ खेलकुद संस्था (एनएए) स्थापना भएको र २०७५ साल चैतबाट नागरिक उडड्यन प्राधिकरणले अनुगमन, लाइसेन्स, नवीकरण प्रदान गर्ने गरेको हो । संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडि विदेशी पाइलट भए पनि अहिले नेपाली मात्रै रहेका छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् भने एक अर्ब बढीको लगानी रहेको छ ।

उनका अनुसार सोमबारको दुर्घटनामा टेण्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्राधिकरणका पोखरास्थित प्रबन्धक (एयर ट्राफिक सर्भिस) अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ । रासस

प्रतिक्रिया