‘ओली आएपछि भारतसँग शत्रुता बढ्यो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भारत र चीन दुवै देशसँग नेपालको द्विपक्षीय सम्बन्ध सुमधुर र सुदृढ रहेको स्पष्ट पारेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले सरकारले देश र जनतालाई केन्द्रविन्दु र हितलाई सर्वोपरि राखेर छिमेकीहरुसँगको सम्बन्ध अघि बढाएको र अहिले भारत र चीन दुवै देशसँग नेपालको सम्बन्ध सही दिशामा अघि बढेको दाबी गरे ।

भट्टराईले भने,‘हाम्रो विदेश नीतिको मामिलामा वर्तमान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारको स्पष्ट भनाई के छ भने संविधानमा पनि उल्लेख छ–हामी कतैपनि संलग्न नरहेर, हामी सैन्य र राजनीतिक संलग्नतामा नजाने, कुनै पोलमा पनि जाँदैनौँ । जनताको हितलाई ध्यानमा राखेर गरिने सहकार्यमा सरकार अडिग छ ।’

यस्तै उनले मित्रराष्ट्र भारतसँग नेपालको लामो सहकार्य रहेको पनि सुनाए । आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध झनै प्रगाढ बनाएर अघि बढ्नुपर्नेमा उनकाे जाेड छ । उनले भने, ‘सामाजिक, धार्मिक, सांस्कृतिक र भाषाका हिसाबले भारतसँग हाम्रो सम्बन्ध धेरै प्रगाढ छ । बढिभन्दा बढि परनिर्भरता भारतसँग रह्यो । आजको नेपाल र आजको चेतनाअनुसार हामी सम्बन्ध बनाउँछौं । त्यही भएर हामीले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुँदैन भन्यौँ ।’

त्यस्तै, उनले चीनसँगको सन्दर्भमा पनि अहिले सम्बन्ध प्रगाढ रहेको बताए । उनले भने,‘यो बीचमा थुप्रै सन्धि/सम्झाैता गरेका छौँ । चीनसँगपनि हाम्रो सम्बन्ध स्वतन्त्र हो । हाम्रा सम्बन्ध सबै मित्रराष्ट्रसँग त्यही आधारमा हुन्छन् । हामीले सबैसँग मित्रताकाे हात अघि बढाएका छाैँ ।’

नेता भट्टराईले आफ्नो पार्टीभित्रको आन्तरिक विवादलाई लिएर अहिलेको अवस्था आउनु नै दुःखद् भएको टिप्पणी गरे । उनले भने, ‘यो खालको अवस्थामा नेकपा जानु हुँदैन थियो । जनताको म्याण्डेट पाँच वर्ष यो सरकार चलाउने हो । अस्थिरता दोहोरिन खोजेको हो कि आशंका छ । तर, मलाई लाग्छ अहिलेको विवाद सचिवालय बैठकले छलफल गरेर टुँगोमा पुर्याउँछ ।’

पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न प्रधानको सुझाव 

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाईदा हाँसिल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको सेनाले सिमामा त्यति चासो नलिएको बताउँदै भारत र चीनसँग कुनैपनि किससमको शंका/उपशंका गर्न नहुनेमा जोड दिए ।

नेकपाभित्रको विवादबारे संकेत गर्दै उनले वर्तमान सरकारलाई आफ्नो म्याण्डेटअनुसार चल्न दिनुपर्नेमा जोड दिए । उनले भने,‘देशमा कम्युनिष्ट पार्टी सरकारमा छ, उसको शासन छ, यो शासनमा मजदुर जनताको हित गर्ने हो नि । तर, खोई कहाँ उनीहरुको हित भएको छ ? दैनिक ज्यालादारी र मजदुरी गरेर खानेहरु कसरी बाँच्छ ? सरकारले हेर्नु पर्दैन ? यो सरकारसँग कोही पनि सन्तुष्ट छैनन् ।’

उनले आफ्नो पार्टीभित्र पनि विवाद भएको सुनाए । यद्यपी आफ्नो पार्टीभित्रको विवाद भने पार्टीको अधिवेशनको लागि भएको सुनाए । उनले भने, ‘हाम्रो लडाईँ त ईस्युमा हो । केपी ओलीले युवाहरुलाई नेतृत्व दिने भनेका छन् । मैले पनि युवा साथीहरुलाई नेतृत्व लिन तयार हुनुपर्छ भन्दै आएको छु, हाम्रै पार्टी युवा नेताहरुलाई लड्न भनेको छु । युवाहरुले आँट गरेका छैन् । म त बीचमा छु । ७० पुगेको छैन, ६० वर्ष नाघिसकेँ । अर्को कुरा सभापति उठ्न क्रेज पनि चाहियो नि ।’

प्रधानले अहिले राजतन्त्र फर्काउनुपर्छ भनेर भैरहेको जुलुस तथा प्रदर्शनलाई लिएर गम्भिर टिप्पणी गरेका छन् । उनले भने, ‘यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो । अब नेपालमा राजतन्त्र फर्किँदैन । म च्यालेन्ज गर्छु । गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो एजेण्डा हो । हामीले बोकेर यी परिवर्तनका आएको हुन् । राजालाई पार्टी खोल्न चूनौति दिन्छु । त्यो हो डेमोक्रेसी हो । नीति तथा कार्यक्रम, भिजनसहित आउनुपर्यो । तलबाट उठेर आउनुपर्छ ।’

ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो : डा. दिक्षित

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले चीन र भारतबाट नेपालमा उच्चस्तरको भ्रमण हुनु राम्रो र सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालका नेताहरुले आफ्नो हितलाई मात्रै हेर्ने परिपाटीको अन्त्य गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘चीन र भारतलाई लडाएर, एक आपसमा झगडा लगाएर आफ्नो राजनीतिलाई मात्रै फाइदाको रुपमा हेर्नुहुँदैन । हामीसँग धेरै साधन छैन । प्रगतिको लागि हामीले भारत र चीनसँग त सहकार्य गर्नुपर्छ । भारतबाट धेरै सहयोग पाएका छौं । चीनले पनि बिआरआईमार्फत सहयोग दिन खोज्दैछ । यो हाम्रो लागि खुशीको कुरा हो ।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि नेपालको भारतसँगको सम्बन्ध बिग्रिएको उनको दाबी छ । डा. दिक्षितले भने, ‘ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो । नेपालको भारतसँग यस्तो खराब सम्बन्ध कहिल्यै पनि थिएन ।’

प्रतिक्रिया