आगो सल्किएको त १० महिना भाे, निभाउने चैं कसले ?

भगवती चौधरी
सत्तारुढ नेकपाका शीर्ष नेताहरुको कलहले दोस्रो तह देखि तल्ला स्तरका कार्यकताहरुमा चरम निराशा फैलिँदै गएको छ । आम निर्वाचनमा जनताले दिएको अभिमतको बर्खिलाफ गर्दै कुर्सी र पदका लागि शीर्ष नेताहरुले देखाएको ‘ताण्डब’ नृत्यले समग्र कम्युनिस्ट आन्दोलन समेत प्रभावित भएको बन्दै गएको आभाष भएको छ ।

०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नवगठित नेकपा प्रति जनताको जुन आशा, भरोसा र विस्वास थियो ती सबै विगत १० महिना यताका राजनीतिक अभ्यासले चकनाचूर बनाईदिएको छ । ध्वस्त बनाईदिएको छ । लोकतान्त्रिक पद्दति र सिष्टममा नेकपाभित्र यतिसारो विकृत मानसिकता हावी होला भन्ने सायदै कसैले कल्पना गरेको थिएन । मुलुकको अर्थतन्त्र शुन्यमा झर्ने अवस्था हुँदै गर्दा, दिनप्रतिदिन जनता कोरोनाले मर्दै गर्दा हाम्रा नेताहरुको ‘नाङ्गो नाच’ले आजभोली आफैं लज्जाको पात्र भइरहेको अनुभूत हुन्छ ।

नेकपा भित्रको विवाद स्वभाविक कि अस्वभाविक ?

धेरैले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रविचको एकता नै स्वार्थ केन्द्रीत एकता थियो भन्ने गर्छन् । र, वास्तवमा त्यो एकता स्वार्थ केन्द्रीत नै थियो तर, त्यो स्वार्थ नेकपाका कुनै एक जना नेताको लागि, पदको लागि र सत्ताको लागि चैं थिएन । दुई दशकसम्म मुलुकमा स्थिर राजनीति नहुँदा जनताले धेरै दुखः पाए, सत्ता बनाउने र गिराउने खेलमा जनताले विकासका आधारभूत अवयव समेत देख्न पाएनन् । १० वर्षको शशष्त्र द्वन्द्वले मुलुक जर्जर भयो, अब जनताका मुहारमा परीवर्तनको खुसी दिनुपर्छ, अब ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना साकार पार्नु पर्छ, र त्यसकालागि स्थायी सरकार अपरिहार्य छ भनेर नै दुई ठूला कम्युनिस्ट पार्टीको एकता भएको हो । तर, नेकपा भित्रको बर्तमान परिदृश्यले उल्लेखित स्वार्थभन्दा फरक स्वार्थ लिएर पो एकता भएको थियो कि ! शंशय पैदा भएको छ । जसलाई म अस्वभाविक भन्न सक्दिन ।

भगवती चाैधरी

नेताहरुका पछिल्ला गतिविधिले हामी कार्यकर्तालाई जनताका अगाडी जान लाजमर्दो बनाएको छ । सरकार गिराउने, पार्टी फुटाउने भन्दै आरोप प्रत्यारोपमा उत्रिएका नेताहरुले इमान्दारीता, नैतिकता र त्यागलाई ‘बागमति’मा बगाई सकेछन् । हामी कम्युनिस्टहरुले आफ्नो लागि भन्दापनि सर्वहारा वर्गको जिजीविकाको लागि काम गर्नुपर्छ भनिन्थ्यो । आफ्नै पार्टीका शीर्ष नेताहरुको व्यक्तिगत स्वार्थमा रुमलिएको देख्दा मुख छोप्नुपर्ने बेला आयो ।

हाम्रा शीर्ष नेताहरुले जनता र कार्यकर्ताको मनोभावना कहिल्लै बुझ्न सकेनन् । नत बुझ्ने चेष्टा नै गर्दैछन् । जनता रोग भोक र शोकमा रहेका बेला नेकपाका शीर्ष नेताहरु बालुवाटार, खुमलटार र धुम्बराहीमा आ–आफ्ना गूटमा एकअर्का विरुद्ध विषमवन गर्दै जानु कदापि सुहाउँदिलो विषय हैन । नेकपा भित्र शीर्ष नेताको ‘जुँङ्गाको लडाईंले मुलुकलाई नै अस्थिरता तर्फपो धकेल्दै छ कि चिन्ता छ । किनभने प्रतिगमनकारीहरु यथास्थितिवादीहरुको सल्वलाहट नयाँ बानेश्वर, थापाथलीका बढ्दै भइरहेको छ ।

नेकपाका दुई पाइलट (अध्यक्ष) विचको रडाँकोले तत्कालिन समयको एकताको जग नै कमजोर धरातलमा गरिएको रहेछ भन्ने पुष्टि हुँदै गयो । यी शीर्ष नेताहरुले मुलुक र जनताका लागि दुई कम्युनिस्टको एकता गरेको हैन रहेछ भन्ने सन्देश प्रवाह भइरहेको छ ।

कम्युनिस्टहरु जुधेरै सकिए

नेकपा एमालेका तत्कालिन अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका तत्कालिन अध्यक्ष प्रचण्डले नै ‘दुई तिहाईको स्थायी सरकारको सपना’ देखेको हो । दुई अध्यक्षको सपना साकार पार्न मात्र हैन, पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म, हिमाल, पहाड र तराईमा रहेका जनतालाई परीवर्तनको प्रत्याभूत गराउन त्यसपछिका नेता, दुई पार्टीका कार्यकर्ता तथा आम जनताको अभूतपूर्व साथ र समर्थन समेत रहेकै हो ।

संसारमा ‘कम्युनिस्टहरु जुधेरै सकिए’ भन्ने उखानलाई बदल्ने गरी भएको दुई ठूला कम्युनिस्टहरुको एकताले विश्व कम्युनिस्ट राजनीतिलाई समेत तरंगीत बनायो । अब मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक संरचनाले कोल्टे फेर्छ, हिमाल पहाड तराई जताततै विकासका आधारहरु बन्छन् । रेल, पानी जहाज, मेट्रो रेलहरु चमत्कारीक रुपमा आउनेछन् । अब दुखःका दिन गए सुखका दिन आए भन्ने आशा देखाएको थियो । जसरी आजको दिन कस्तो हुन्छ भनेर विहानीको सुर्योदयले आभाष गराउँछ, त्यसरी नै एमाले–माओवादीको एकताले जनतामा आशाको सञ्चार गराईदिएको थियो । तर, परीवर्तनको खोजीमा रहेका जनतालाई धोका दिने कार्य आज नेकपाबाटै भयो । आज विडम्बनापूर्वक भन्नुपर्छ ‘कम्युनिस्टहरु जुधेरै सकिए’

परीवर्तनको झुटो आश

मेरा स्मृतिमा आज २०७४ सालको आमनिर्वाचनको परिदृश्य ताजै छ । ६–६ महिनामा परीवर्तन हुने सरकारबाट वाक्क भएका जनताहरु ‘बाम–गठबन्धन’को चुनाबी अभियानमा दिलो ज्यान दिएर उर्लिएका थिए । गाउँ टोल र सहरका गल्लीगल्लीहरुमा बाम गठबन्धनको नारा लेखिएका टिसर्ट, टोली लगाएर परीवर्तन गर्ने शक्ति भन्दै कुर्लिन्थे । घरघरमा राता झण्डाहरु फरहराइएका थिए । आँखामा क्रान्तिको ज्वाला लिएर युवाहरु उर्लंदा सारा देश ‘बाममय’ भएको थियो । मुलुकको राजनीतिबाट निराश भएर रोजगारीको लागि विदेशी मरुभूमीमा रगत पसिना बगाउन जाँदै गरेका लाखौं युवाहरुलाई हामीले नै हो ‘परीवर्तन’को आश देखाएको हो । अस्थिर राजनीतिले जन्माएको फोहोरी राजनीति सफा गर्नुपर्छ भनेर सडकमा उतारेको हो ।

आज ती युवाहरुको भविष्य अन्धकार बनाइएको छ । शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेण्टी गर्ने आश्वासनको पोको देखाउँदै ‘लाल’ फेटा गुथाएर सडकमा उतारेका युवाहरु आज चरम निराश भइसकेका छन् । र, यो अरु कसैको उक्साहटमा, भरोसामा भएको हैन । स्वयं सत्तारुढ दलकै हर्कतबाट, शीर्ष नेताहरुको कृयाकलापबाट भएको छ । जनतालाई परीवर्तनको आश देखाइयो तर, असली परीवर्तन त जनताले हैन सत्ता केन्द्रीत, कुर्सी केन्द्रीत राजनीति गर्नेहरुको मात्रै भयो ।

मुलुक संघीय गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेपछि आम जनताले पक्कै केही नयाँ परीवर्तन हुन्छ भनेर आश गरेकै थिए । जुन अस्वभाविक पनि थिएन । र, सुरुवाती चरणमा सरकारका कृयाकलापले परीवर्तनको संकेत पनि देखिएकै हो । एकात्मक शासन व्यवस्था समाप्त भयो, गाउँगाउँमा सिंहदरबारका अधिकार पुगे । जनताले दुई तिहाईको स्थायी सरकारको अनूभूत पनि गरे । तर, जसै नेकपारुपी सरकारले दोस्रो वर्षमा पाइला चाल्दै गयो ऊ ‘माकुराको जालोमा माकुरा’ आफैं परेजस्तो हुँदै गयो ।

पुरानो पद्दतिबाट मुलुकलाई नयाँ पद्दतिमा लग्नु सरकारको पहिलो चुनौति थियो, सरकारले पहिलो वर्ष संघियता कार्यान्वयनको वर्षका रुपमा आफुलाई उभ्यायो । स्थानीय, प्रदेश र केन्द्रका बन्न बाँकी ऐन र संरचना बनाउँनै सरकार केन्द्रीत भयो । दोस्रो वर्षलाई विकासको आधार वर्ष भन्यो । देशभर विकास र परीवर्तनका आधारशिला बनाउन प्रयत्न गर्यो । प्रधानमन्त्री कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, पूर्वपश्चिम रेल, पानीजहाज कार्यक्रम, उर्जा, कृषि क्षेत्रका केही उदाहरणीय योजनाले नेकपा सरकारलाई लोकप्रिय बनाउँदै गएपनि पार्टीभित्र र बाहिर रहेका यथास्थितिवादीहरुलाई मन परेन । र, पार्टीभित्र र बाहिरबाटै सरकारलाई कमजोर बनाउने, पार्टीलाई अलोकप्रिय बनाउने खेल शुरु भयो । तिललाई पहाड बनाउँदै सरकार बनाउने र गिराउने खेलहरु । जसको असर अहिले पार्टीलाई पर्दैछ । सरकारका राम्रा कामलाई जनता माझ ल्याउन नसक्नु, पार्टीका राम्रा सुझाबलाई अनुशरण नगर्नु दुवै पक्षको कमजोरी हो ।

अर्को कुरा पार्टी र सरकार कुनै अमूक व्यक्तिको लागि मात्र हैन । यो सबै जनताको साझा संस्था हो । सरकार जनताका लागि जनताद्वारा बनाइएको हो भने, पार्टी कार्यकर्ताका लागि । सरकारले जनताका लागि काम गर्नुपर्छ । पार्टीले जनतासँगै कार्यकर्ताका पनि भावना मुखरित गर्नुपर्छ । यहाँ त नेतृत्वकै कारण सरकार कसका लागि, पार्टी कसका लागि ? प्रश्न उठाउने बेला आइसक्यो । टाउकाले पुच्छर हल्लाउँदा मात्र सार्थकता हुन्छ । पुच्छरले टाउको हल्लाउने सिद्धान्त कहाँ छ ?

आदरणीय नेताज्युहरु

स्मरण गर्नुहोस् आफ्ना चुनाबी घोषणा, स्मरण गर्नुहोस् जनताका घरदैलोमा पुगेर गरेको बाचा । तपाईहरुले स्थायी सरकारको रटान लगाउनु भएको हैन, दुई तिहाईको बाम कम्युनिस्ट सरकारले मात्र सर्वहारा वर्गको उत्थान गर्छ भनेको हैन । यहि हो तपाईहरुको काम गराई ? दुई चार जना सत्ताको अघिपछी गर्नेहरुको जीवनशैली परीवर्तन भयो भनेर लठ्न नपर्नोस महोदय, नेकपाको ‘धोती’ खुस्कँदै छ । राजाको शासनकालमा जस्तो ‘हजुर, हजूर’ भन्नेहरुकै जमातमा मात्र रुमलिइरहने हो भने तीन वर्षपछि हामीहरु रछ्यानमा पुग्नेछौं ।

नेकपाभित्र पछिल्लो परिस्थितिले आम कार्यकर्ता निराश छन् । शीर्ष नेताहरु विचको द्वन्द्वले मुलुकलाई अध्यारो तर्फ लग्दैछ । उत्तर–प्रतिउत्तर, क्रियाको–प्रतिक्रिया न्यूटनको प्रथम र दोस्रो नियमानुसार शिर्ष नेतृत्वको घुमाउरो सत्ता मोहले इमान्दार कार्यकर्ता विचलित हुँदैछन् । यसतर्फ ध्यानाकृष्ठ होस् ।

एउटा आगो भए अर्को पानी भएर एकताको गाँठो कस्नु पर्ने बेला दुवै आगो बन्नु नेतृत्वको बुद्धिमता हैन । जसरी अभिभावकले सबै सन्तानका भावना र चाहना सुनेर निर्णय गर्नुपर्छ, त्यसरी नै नेतृत्वमा रहेकाले आम जनता र कार्यकर्ताको भावनालाई संवोधन गर्नुपर्छ ।

नेकपामा विग्रहको आगो त सल्किएको १० महिना भइसक्यो । अब निभाउने बेला भएको छ । तर, निभाउने चैं कसले ? प्रश्न उठिरहेको छ । जुधेरै सिध्धिने हो भने एकताको नाटक किन ?

हामीले बुझ्नुपर्छ अहिलेको परिस्थितिमा सरकार गिराउने र बनाउने खेल लोकतन्त्रको लागि सहि हैन । जनमतले पनि स्थायी सरकार भत्काउन दिएको छैन । यदी सत्ता र कुर्सीकै लागि शीर्ष नेताहरु लडिरहेको हो भने त्यसले नेकपालाई अवसानको मार्गतर्फ डोहोर्याउँदैछ । लोकतान्त्रिक पद्दतिमा पार्टी भित्र होस् या वाहिर आलोचना हुनु, गर्नु स्वभाविक प्रक्रिया हो । आलोचनाले मानिसलाई सुध्रने मौका दिन्छ । प्रशंशाले काम गर्ने हौसला । सरकार सञ्चालक र पार्टी सञ्चालक दुवैले आलोचना, प्रशंशा सुन्न सक्नुपर्छ । सच्चिन सक्नुपर्छ । अनीमात्र लोकतन्त्रको रक्षा हुन्छ ।
नेतृ चौधरी नेकपाकी केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया