आज तीन सय ९६ स्थानीय तहमा अस्पतालको शिलान्यास हुँदै

काठमाडौं । अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागिएको छ । सबै स्थानीय तहमा संयुक्त रूपमा तीन सय ९६ अस्पतालको शिलान्यास गर्ने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै स्थानीय तहहरूमा पाँचदेखि १५ शैयासम्मका अस्पताल निर्माण गर्न लागिएकोे हो ।

यी अस्पताल भवन दुई वर्षभित्र निर्माण सकेर त्यहाँ स्वास्थ्य उपचारका सेवा सुचारू गर्ने गरी तयारी गरिएको छ । स्थानीय तहमा अस्पताल निर्माण गर्न हालै अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि मन्त्रालयले अस्पताल निर्माणमा तदारुकता देखाएको हो ।

५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि शिलान्यास गर्न लागिएको हो ।

पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन वहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय भइसकेको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

यो बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश भएर स्थानीय तहमा सशर्त अनुदानको रूपमा जानेछ । अर्थले स्थानीय तहमा अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ ।

अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले करिब एक महिनाअगाडि बैठक गरी मंसिर १५ मा अस्पताल निर्माण कार्य थाल्ने योजना बनाएका थिए ।

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउने उल्लेख थियो । नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराउन स्थानीय तहमा अस्पताल बनाउन लागिएको हो । ती अस्पतालमा १० देखि ३० जनासम्म चिकित्सक रहने भनिएको छ ।

प्रतिक्रिया