‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेका छन् । प्रवक्ता शर्माले शनिवार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

प्रवक्ता शर्माले वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली काँग्रेसले व्यक्त गरिआएको समीक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टि गरेको बताएका छन् ।

पछिल्लो एकवर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबै भन्दा अगाडि देखिनु दुःखद रहेको भन्दै भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेको स्थिति देशकै लागि लज्जास्पद समेत भएको उनले टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको प्रवक्ता शर्माको भनाइ छ ।

भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भन्ने प्रधानमन्त्रीले भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म विर्सिएको प्रवक्ता शर्माले उल्लेख गरेका छन् । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई पुष्टि गर्न तर्फ लाग्ने अनि भ्रष्टाचार विरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिन्छ ।’

‘वाइड बढी, बालुवाटार, यति देखि सेक्युरिटी प्रिन्टिङ प्रेस हुँदै स्वास्थ्य सामग्री खरिद सम्ममा भएको भ्रष्टाचार प्रकरण उपर निष्पक्ष छानबिन र कडा कारबाहीका लागि नेपाली काँग्रेसले विगत देखिनै संस्थागत निर्णयहरूका साथ माग राख्दै आएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनले हाम्रा ती माग तथ्यपूर्ण रहेको पुष्टि गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै अघिल्लो सरकारले निश्चित गरेको बुढी गण्डकी जलविद्युत परियोजनामाथि पनि छानबिन गर्न आवश्यक रहेको उनले बताएका छन् । ‘स्वदेशी लगानीमा निर्माण गर्न सकिने, अध्ययन कार्यदलको निष्कर्षका आधारमा अघिल्लो सरकारले निश्चित गरेको बुढी गण्डकी जलविद्युत परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पन वर्तमान सरकारले मिलाएको तारतम्यका पछिल्तिरको अपारदर्शिता र अनियमितता अब गम्भीर छानबिनको दायरामा ल्याइनुपर्ने टड्कारो आवश्यकता देखिएको छ, विज्ञप्तिमार्फत भनिएको छ ।

प्रतिपक्ष, आम सञ्चार माध्यम देखि ट्रान्सपरेन्सी इन्टरनेशनल सम्मले मात्रै होइन पछिल्लो एकबर्षमा भ्रष्टाचार व्यापक वृद्धि भएको बुँदागत तथ्य स्वयं नेकपा भित्रै समेत लिखित रूपमै प्रस्तुत भई सकेको स्थितिमा भ्रष्टाचारका विरुद्ध अझ प्रखर आवाज उठ्न, उठाउन र तीव्र दबाब सृजना गर्न जरुरी रहेको प्रवक्ता शर्माको भनाइ छ ।

प्रतिक्रिया