मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमख समाचारहरु

‘समस्या केपी कमरेडले निम्त्याउनुभएको हो, समाधान पनि उहाँले नै गर्नुपर्छ’
नेकपा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले नेकपाभित्रको विवादलाई प्रधानमन्त्रीले समाधान गर्नुपर्ने बताएकी छन् । समस्याको जड पनि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउँदै नेतृ शाक्यले यस्तो बताएकी हुन् ।

नेतृ शाक्यले मकालु खबरको जिज्ञासामा भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूले नै समस्याको समााधान खोज्नुपर्छ । किनकी, शुरुमा समस्या निम्त्याउने पनि उहाँ नै हुनुहुन्थ्यो । केपी कमरेडले नै अब सहजकर्ताको भूमिका खेल्नुपर्छ । नभए त नेतृत्व कसरी भयो र ?’

यस्तै नेतृ शाक्यले प्रधानमन्त्रीले आत्म आलोचना गर्नुपर्नेसमेत बताएकी छन् । प्रधानमन्त्रीले आत्म आलोचना गर्न भुलेर आत्मप्रशंसा मात्रै गरेको बताएकी नेतृ शाक्ले भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूले खाली आफ्नो आत्मप्रशंसा मात्रै गर्नुहुन्छ । नेतृत्व भएपछि आत्म आलोचना गर्न पनि सक्नुपर्छ । आत्म आलोचना गर्न नसक्ने नेतृत्वलाई के नेता भन्नु, के नेतृत्व भन्नु ?’

सभामुख सापकोटाको ठहर–‘दलहरुमा विज्ञताको कमी भयो’
प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित संघीय संसद र प्रदेश सभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवम् अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले जनमूखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताएका छन् ।

यस्तै सभामुख सापकोटाले राजनीतिक दलहरुभित्र लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको पनि सुनाए । सभामुख सापकोटाले भनेका छन्, ‘दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननीय सांसदहरुमा पनि विज्ञता नभइकन, ज्ञानको तागत भनेको आफ्नो विज्ञताको तागत हो त्यसो नहुँदा खेरी त अरुको भर पर्नुपरेको छ ।’

‘सरकार संसद बैठक बोलाउने तयारीमा छ’
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सरकार संसद अधिवेशन बोलाउने तयारीमा हरेको बताएकी छन् ।

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवम् अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले संसद सचिवालयले संसद बैठक सञ्चालनका लागि तयारी गरिरहेको भन्दै उनले चाँडै नियमित बैठक शुरु हुने बताएकी हुन् ।

गत असार १८ गते सरकारले बजेट अधिवेशन चलिरहेको समयमा संसद अधिवेशन अन्त्य गरेको थियो । तत्पश्चात् १८ षौषअधि संसदको हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने बाध्यतात्मक अवस्थामा रहेको सरकारले छिटै अधिवेशन हुने बताएको हो ।

पछिल्लो कोरोना अपडेट : २३ जनाको निधन, संक्रमित कति थपिए ?
नेपालमा कोरोना संक्रमणका कारण थप २३ जनाको निधन भएको छ । योसँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

यस्तै गत २४ घण्टामा १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७ सय ३ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घन्टामा १ हजार २ सय ३६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

देशभर संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । जसमध्ये २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

ओलीलाई मोदीको सन्देश– ‘सीमा विवाद अन्त्यका लागि वार्ता गर्न भारत तयार छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् ।

आफूसँग विहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिव हर्षबद्धैन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्याइदिन आग्रह गरे ।

भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार कालापानी(लिम्पियुधाराबारे नेपालले उठाएको मुद्दालाई वार्ताद्वारा समाधानका लागि तयार रहेको मोदीको सन्देश हर्षवर्धनले सुनाएका छन् ।

मोहन वैद्यको घोषणा–‘सातै प्रदेशमा सरकारविरोधी प्रदर्शन गर्छौँ’
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले सातै प्रदेशमा सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेको छ । पार्टीले आगामी २५ मंसिरमा काठमाडौंसहितका सातै प्रदेशमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गत मंसिर ८ देखि १० गतेसम्म बसेको सो पार्टीको पोलिटब्यूरो बैठकले भारतले कब्जा गरेको लिम्पियाधुरासहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, बालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निस्कासन तथा कटौतीको विरोध, किसानहरुका लागि मल तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त रुपमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको पार्टी महासचिव मोहवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘अरुको आडभरोसामा उम्मेदवारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन सक्दैनन्’
नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले अरुको आड र भरोसामा उम्मेदवारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने बताएका छन् । महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्डा हुनुपर्ने पनि उनको भनाइ छ ।

महासंघको जारी साधारणसभाका क्रममा आजको बन्दसत्रमा उनले भनेका छने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्वका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।’ उनको यो मन्तव्यको आशय अर्का प्रत्यासीसँग आफ्नै एजेण्डा र भिजन नरहेको र उनले चुनावको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेण्डामा रहेको भन्ने थियो । ढकालले थप भने, ‘म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्फत महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वातावरण बनाउन सक्छु, मसँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

‘पूर्वराजा र राजावादीहरूले आफूलाई राष्ट्रवादी दावी नगरुन्’
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरुले आफूलाई ‘राष्ट्रवादी’ भनेर दावी गर्न नमिल्ने बताएका छन् ।

अरु जेसुकै दावी गरे पनि उनीहरुले आफूलाई ‘राष्ट्रवादी’भने दावी गर्न नमिल्ने नेता भट्टराईको भनाइ छ । ‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’चैं नभनुन् !’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले आफ्नो आधिकारिक ट्वीटरमार्फत् उल्लेख गरेका छन् ।

यस्तै उनले राजावादीहरुको धर्मको राजनीति देशबाहिर कसले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको भन्ने कुराको नेपाली जनताले बुझिसकेको समेत बताएका छन् । उनले थप लेखेका छन्–‘उनको जस्तो राजनीति देशबाहिर कसले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानुन् । नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ सोचुन् ।’ उनले लेखेका छन् ।

गुल्मीमा जिप खस्दा ५ जनाको घटनास्थलमै मृत्यु
गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । इस्मा ४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खस्दा एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु हो ।
जिपमा चालक र सहचालकसमेत गरी ९ जना सवार थिए । दुर्घटनामा परी इस्मा४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको मृत्युभएको गुुल्मीका प्रहरी प्रमुख (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार इस्मा गाउँपालिका ४ कै १९ वर्षीय पर्शुराम थापा र २८ वर्षीया सरस्वती दर्लामी गम्भीर घाइते छन् । जीपका सहचाक २५ वर्षीय कमल हितान घाइते छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुुरु गरिएको एसपी प्रविणलाल श्रेष्ठले बताए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल लगिएको छ ।

युरोपा लिग : टोटनह्याम र आर्सनल विजयी
युइएफए युरोपा लिग अन्तर्गत टोटनह्यामले जित हासिल गरेको छ । गएराती सम्पन्न समुह जे अन्तर्गत टोटनह्यामले लुडोगोरेट्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा कार्लोस भिनिसियसले दुई गोल गरेका थिए भने ह्यारी विंक्स र लुकास मउराले एक एक गोल गरेका थिए । यो जितपछि टोटनह्यामको ४ खेलमा ९ अंक भएको छ भने नकआउट चरणमा प्रवेश नजिक पुगेको छ ।यस्तै गएराती नै भएको समूह बि अन्तर्गतको खेलमा आर्सनल विजयी भएको छ । नर्वेको मोल्डे एफकेलाई ३(० ले पराजित गर्दै आर्सनल नकआउट चरणमा पुगेको हो ।

आर्सनललाई जित दिलाउन निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले एक–एक गोल गरे । यस जितसँगै समूह बीमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ । आर्सनलले ४ खेलमा १२ अंक जोडेको छ । आर्सनल समूहको शीर्ष स्थानमा रहेको छ ।

ट्रम्पले भने–‘बाइडेनले जितेको प्रमाणीकरण भए म सत्ता छाड्दिन्छु’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा आफूले ह्वाइट हाउस छाड्ने घोषणा गरेका छन् । तर उनले आफ्नो पराजय अझै स्वीकार गरिसकेका छैनन् ।

यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा सहमति जनाएका थिए । राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगे जस्तो देखिन्छ । उनले भनेका छन्, ‘यदि बाइडनले जितेको कुरा इलेक्टरल कलेजले पुष्टि गरेमा उनी ह्वाइट हाउसबाट बाहिरिने छन् ।’

इलेक्टरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ । तर ट्र्म्पले सिधै पराजय स्वीकार गरिसकेका छैनन् । उनले प्रमाण प्रस्तुत नगरेरै मतदानमा धाँधली भएको दाबी दोह¥याइरहेका छन् । यसअघि उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुने कुरामा सहमति जनाएका थिए ।

प्रतिक्रिया