भारतीय विदेश सचिवलाई देउवाले भने- ‘सम्झौता भएका परियोजना चाँडो कार्यान्वयन गर्नू’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा विहिबार साँझ भएको भेटवार्तामा उनीहरुबीच नेपाल-भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए ।

भेटमा सभापति देउवाले काँग्रेसले सदैव नेपाल-भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा भारतको नैतिक समर्थन रहँदै आएको बताएका थिए । सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोड दिएको सभापति देउवा प्रधानमन्त्री हुँदा उनका सल्लाहकार रहिसक्नुभएका भट्टराईले बताए ।

भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दा समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचारविमर्श भएको थियो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा सचिव श्रृङ्गला दुईदिवसीय भ्रमणका लागि विहिबार काठमाडौँ आएका हुन् ।

प्रतिक्रिया