नेकपा (माओवादी केन्द्र) देशभक्त समाजवादी आन्दोलनको पक्षमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले “मुख्यतः रुपान्तरणमा जोड एवं महाध्रुवीकरण पहल” को निर्णय गरेको छ । यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले यस्तो निर्णय लिएको हो ।

आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा (माओवादी केन्द्र) ले यस्तो जानकारी दिएको हो । देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने पनि निर्णय गरिएको पार्टीले जनाएको छ ।

‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’ पार्टीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष गोपाल किराँतीले पनि अब व्यापक ध्रुवीकरणमा जाने बताए । एकताको लागि नेत्रविक्रम चन्द ‘विप्लवसँग’ छलफल भैरहेको जनाउँदै भने–‘आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म वातावरण बन्छ ।’
पार्टीका उपाध्यक्ष विनोदकुमार उपाध्यायले नयाँ ढंगको विचारको विकास गरिराखेको सुनाउँदै एकजुट भएर क्रान्तिकारी विचारको विकास गर्नुपर्नेमा जोड दिए । उनले देशभक्तिपूर्ण आन्दोलन गर्नुको विकल्प नरहेको पनि बताए

पार्टीले पुस ११ गते माओ दिवसमा ‘समाजवादी निर्वाचन प्रणालीको संयुक्त राज्यसत्ता निर्माणबारे’ काठमाडौमा छलफल गोष्ठी गर्ने, जनयुद्ध दिवस फागुन १ गते देशव्यापी अन्तरक्रिया भेलाहरु गर्ने, आठ मार्च कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)लाई सहयोग गर्ने, चैत्र २४ गते जनआन्दोलन दिवसमा सशक्त जनप्रदर्शन तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ०७८ बैशाखमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

पार्टीले षड्यन्त्रद्वारा नेतृत्व हत्याउने लिनप्याओवादी प्रवृत्ति र दुई बर्षमा एक पैसा लेवी नतिरी नेता पल्टने लम्पट चरित्रका संसदवादी भाईरसहरु विगत अन्तरपार्टी संघर्षबाट स्वयं निश्काशित भएको भन्दै त्यस उप्रान्त छैठौं बैठकले गोपाल किरातीको अध्यक्षतामा उपाध्यक्ष विनोद उपाध्याय, महासचिव राजन तिमल्सिना, सचिवद्वय आलोक रायमाझी र विमल निरौला रहेको जनाएको छ । साथै, केन्दीय समिति र राजनीतिक परिषदमा सदस्यहरु थप गरी ११ सदस्यीय स्थायी समिति गठन गरिएको बताएको छ ।

पार्टीको पूर्वी कामाण्डको इन्चार्जमा विमल निरौला र त्यस अन्तर्गत प्रदेश १ मा नरेन्द्र कटुवाल तथा प्रदेश २ मा बब्लु ठाकुरलाई इन्चार्ज÷संयोजक तोकिएको छ । मध्य कमाण्डमा राजन तिमल्सिना इन्चार्ज र प्रदेश ३ मा क. मेघबहादुर खत्री तथा प्रदेश ४ कमाण्ड कार्यलयले हेर्ने भनिएको छ । पश्चिम कमाण्ड आलोक इन्चार्ज हुनेगरी प्रदेश ५ अवीन गोतामे तथा प्रदेश ७ कैलाश आउजी र प्रदेश ६ कमाण्ड कार्यलयले हेर्ने भनिएको छ ।

त्यस्तै जनवर्गीय संगठनतर्फ राष्ट्रिय पहिचान मोर्चा इन्चार्जमा पासाङ मोक्तान, अनेमसंघ (क्रान्तिकारी) संयोजक बन्दना तामाङ, देजसा परिवार शाहस राई, प्रेस सेन्टर सुमन वाङदेल र किसान संघ आनन्दराम फुयाललाई जिम्मा तोकिएको छ । अन्य जनवर्गिय संगठन र वाइसिएलको नेतृत्व यथावत कायम छ ।

प्रतिक्रिया