कोरोना भ्याक्सिन ल्याउन निजी क्षेत्रले सहयोग गर्छ : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोनाको भ्याक्सिन ल्याउन निजी क्षेत्रको सहयोग आवश्यक भए सहयोग गर्न तयार रहेको बताए ।

महासंघको ५४ औं साधारण सभामा बोल्दै गोल्छाले कोरोनाको खोप निर्माण हुनसाथ सहजै उपलब्ध गराउन निजी क्षेत्रले सरकारलाई सहयोग गर्ने जानकारी गराए । विभिन्न देशमा कोरोनाको भ्याक्सिन निर्माणको क्रममा रहेका छन् । कोरोनाको कारणले विश्वको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ ।

कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र र  व्यवसाय मारमा परेको  समयमा पनि कर तिर्ने काम निजी क्षेत्रले गरिरहेको उनले बताए । ‘अहिले २ लाख बढी संक्रमित छन, १३ सयभन्दा बढीले ज्यान गुमाईसकेका छन् । अर्थतन्त्रको विस्तार १ प्रतिशतभन्दा कम हुने देखिन्छ । धेरै क्षेत्रको विस्तार ऋणात्मक भएको छ।’ गोल्छाले बताए ।

गोल्छाले कोरोनाले पारेको क्षतिको आंकलन गरि  सरकारले तत्काल राहत प्याकेज ल्याउनु  पर्ने बताए ।  ‘दोहोरा अंकको आर्थिक वृद्धि, बार्षिक ४ लाख नयाँ रोजगारी, व्यापार घाटा न्युनिकरण र आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन सरकारसँग हातेमालो गर्नुपर्छ । बजेटमा आएका सहुलियत कर्जा चाँडो दिने व्यवस्था गरिनुपर्छ ।’ उनले भने ।

गोल्छाले उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन नभएको भन्दै मुलुकमा  आर्थिक मन्दीको संकेत देखिएको प्रष्टयाए । कोरोना प्रभावित अर्थतन्त्रको उत्थानका लागि ३ खर्ब ४० अर्ब खर्च गर्नुपर्ने एक अध्ययनले देखाएको छ । त्यसका लागि सरकारले ध्यान दिनुपर्ने गोल्छाले बताए ।

आफुले मुलुकको अर्थतन्त्र माथि उठाउनका लागि १० वर्षको भिजन पेपर बनाएको र कार्यन्वयनका लागि सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने जनाए । ‘कोरोनाको कारणले उद्योग व्यवसायले ठूलो क्षति व्यहोर्यो । अब ब्याजदरमा छुट, चालु पुँजी, न्युन ब्याजदरमा ऋण चाहिन्छ । बजेट र मौद्रिक नीतिका कार्यक्रम कार्यान्वयनको सुनिश्चितता हुनुपर्छ । १ खर्ब पुर्नकर्जा कोषलाई बढाएर २ खर्बको बनाउनु पर्छ ।’ गोल्छाले बताए ।

अर्थतन्त्रलाई लयमा ल्याउन सकिएन भने आर्थिक मन्दीले दुःख दिने र त्यसका लागि सरकारले प्रत्यक्ष अनुदान, राजश्व छुट, सावा ब्याज छुट लगायतबाट सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया