‘चुनौतीसँग जुधेर निजी क्षेत्रको मनोबल उँचो पार्ने काम गर्नेछौँ’

काठमाडौं । हामी उत्साहित छौं । हामी तीनवटै समूहमा लिड गर्दैछौँ । यसैले हामी १३ मंसिरको पर्खाइमा छौं । अहिलेसम्म जिल्ला नगरका साथीहरुले ८० देखि ८५ प्रतिशत मतको आकलन गरेको ढकालले बताए । उनले भने ‘वस्तुगत र एशोसिएटमा पनि हामी ८० प्रतिशतभन्दा माथि नै छौं । हाम्रो समूहको जित सुनिश्चित छ र निर्वाचन परिणामको पर्खाइमा छौं ।’

जित्ने आधार के के ?

‘मैले के गरेँ भनेर आफैँ दावी गर्नुभन्दा मेरा अग्रजहरुबाटै मेरो मूल्यांकन गरिनु उपयुक्त होला । म महासंघ कार्यकारिणी समिति सदस्यमा पहिलोपटक चुनिँदा अध्यक्ष रहनुभएका आदरणीय सुरज वैद्यदेखि हालको कार्यकारिणी समितिमा रहेर कति उपलब्धि हासिल गर्न सकेँ, दिइएको जिम्मेवारी कति पूरा गर्न सकेँ भनेर हेर्दा प्रष्ट हुन्छ,’ ढकालले भने ।

उनी रोजगारदाता परिषद्को सभापतिका रुपमा न्यूनतम पारिश्रमिक विवादको समाधानदेखि लकडाउन अवधिको तलब निर्धारणमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदूर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउन सकेको र यसलाई सिंगो निजी क्षेत्रको उपलब्धिका रुपमा नेतृत्व गर्न पाएको अवस र उपलब्धिका रुपमा लिएका छन् ।

‘दुर्गमका जिल्लानगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु, नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु । महासंघको प्रादेशिक संरचनाअनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य संघको पूर्वाधारको व्यवस्थालगायत जिल्ला नगरका हरेक इस्यू र जिल्लाका साथीहरुका गुनाशाहरुलाई सुल्झाउने प्रयास गरेको छु । यी सबै कामका साक्षी महासंघका मेरा साथिहरु हुनुहुन्छ ।’

हाम्रो टीम

हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ । टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यवसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ । तपाईंलाई दुःख परेको बेला हाम्रो टीम तपाईँको नजिक हुनेछ, तपाईँले खोजेको बेला पहुँचमा रहनेछ, समस्यालाई नीति निर्माता कहाँ पुर्याइदिएर समाधान खोजिदिनेछ । आखिर तपाईंले महासंघमा खोजेको पनि यस्तै नेतृत्व होइन र ?

आज हामी चुनावमा छौं, स्वभाविक रुपमा हाम्रो टीमसँग प्रतिस्पर्धा गर्नका लागि विपक्षी टीम पनि खडा भएको छ । आज मेरो तपाईंलाई आग्रह छ, हाम्रो र विपक्षी टीमको तुलना गर्नुस्, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हुर्नुहोस् । विपक्षी टीमका अधिकांश साथीको नेतृत्व तपाईं हामीले यस अघि नै भोगिसकेका छौं, त्यो अनुभवलाई आज फेरी सम्झनुहोस् ।

अझ विशेषगरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरुसँग आग्रह गर्न चाहन्छु, उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनुभएका हाम्रा विपक्षी टीमका साथीहरु वितेका वर्षहरुमा तपाईंको नजिक कहिले पुग्नुभएको थियो ? प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नु भएको थियो ? तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ? तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनु भएको थियो ?, समाधान खोजेर ल्याइदिनु भएको थियो ?

हाम्रा एजेन्डा

हामीले भनेका छौं निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन्, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन । तपाईं हाम्रो अबको यात्रा त्यो सम्मान पाउनका लागि हुनेछ, राज्यबाट अभिभावकत्व पाउनका लागि हुनेछ । हिजो अस्ती राज्यसँग लडेर त्यो भूमिका खोज्नुपर्दथ्यो, सम्मान माग्नु पर्दथ्यो । तर आज लडाइँ होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । हाम्रो यो टीमले त्यसका लागि दिलो ज्यान दिए काम गर्नेछ ।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इन्जिन हो । यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं। हामी नेतृत्वमा आउना साथ ती क्षेत्रमा काम थाल्नेछौं ।

जिल्ला नगरका साथीहरुलाई थप विश्वास दिलाउन चाहन्छु, हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागी उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई हामीले उठाउने छौं । नगरपालिकाको व्यवसायिक करमा उद्योग वाणिज्य संघलाई सहभागिता लागू गर्न पहल गर्नेछौं ।

निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तिमा बार्षिक आम्दानीको श्रोत जुटाउनका लागि मोडल बनाउने छौं । उद्यमशीलता विकासका तालिम दिने, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरी लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ । त्यसैगरी जिल्ला नगरका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।

हामीले भनेका पनि छौं, यी कामका लागि हामी नेतृत्व मात्रै होइन्, महासंघको सचिवालयलाई पनि विश्वासिलो, भरपर्दो र डायनामिक बनाउँछौं । हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी उभ्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यवसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ्ग गर्नेछ ।

हामीले महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्नेछौं । त्यस चौतारीमा सबैका समस्याको सुनुवाइ हुने वातावरण बनाउने काम हामीले गर्ने छौं । कारोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मारमा छ । इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौं । अझै पनि यो महामारीले कुन रुप लिने हो स्पष्ट भएको छैन ।

त्यही कारण यो संकटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ । महामारीको यो बेलामा ज्यान जोगाउने र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने छ ।

नेतृत्व भनेको संकटको सारथी हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो । त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामीले काम गर्नेछौं  यी र यस्तै विभिन्न व्यवसायीका इस्यूहरुलाई समेटेट हामीले एफएनसीसीआई भिजन २०२५ को मस्यौदा बनाएका छौं । भोलि हामी नेतृत्वमा पुगेपछि हामीले यसमा थप छलफल र अन्र्तक्रिया गरी थप परिस्कृत बनाएर कार्यान्वयन गर्नेछौं ।

 

प्रतिक्रिया