नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ अर्ब बढी गुमायाे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीका कारण पाँच अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गुमाएको छ । कोरोनाका कारण नियमित उडान घटेकाले पाँच अर्ब भन्दा बढी आम्दानी गुमाउनु परेको हो ।

वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिङ सेवाबाट आएको कुल आम्दानीको १५ प्रतिशत प्राधिकरणलाई दिने गर्छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अबौँको आम्दानी गुमाउनु पर्दा प्राधिकरणअन्तर्गत रहेको विकास निर्माण तथा मर्मतसम्भारका कार्य प्रभावित हुने अवस्था आएको छ ।

कोरोनाको महामारी सुरु भएपछि सरकारले सेवा शुल्कमा दिएको छुटले पनि प्राधिकरणको आम्दानी घटेको छ । यात्रु कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान कम छन् । विमानस्थल सुनसान देखिएको छ ।

सरकारले लकडाउन केही खुकुलो गर्दै आन्तरिक उडान सञ्चालन गरेपनि यात्रुहरु आएका छैनन् । दसैं तिहार जस्ता चाडपर्वमा विदेशबाट आउने नेपालीका कारण यात्रु बढेपनि अहिले फेरि कम भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका अनुसार हाल दुई दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी नियमित र चार्टर उडान गर्दै आएका छन् ।
लकडाउनअघि दैनिक १५ हजार यात्रु आउजाउ गर्ने अन्तर्राष्ट्रिय विमानस्थलमा हाल दुईदेखि तीन हजार यात्रु मात्रै हुने गरेको कार्यालयले जनाएको छ ।

हाल दैनिक करिब १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमार्फत ११ वटा उडान र १३ वटा अवतरण हुँदै आएको छ ।

 

प्रतिक्रिया