मेस्सी बिनाको बार्सिलोना ४-० ले विजयी, पुग्यो नकआउट चरणमा

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले सानदार जित दर्ता गरेको छ । कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले डिनामो किएभमाथि ४-० को सानदार जित दर्ता गरेको हो ।

अवे मैदानमा भएको खेलमा समूह जीको बार्सिलोनाका लागि सेर्गिनो डेस्टले ५२ औँ मिनेटमा पहिलो गोल गरे । ५७ र ७० औं मिनेटमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । त्यसैगरी खेलको इन्जुरी समयमा एन्टोनी ग्रिजम्यानले थप एक गोल गरेपछि बार्सिलोना ४-० ले विजयी भएको हो ।

यो जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ अर्थात नकआउट चरणमा स्थान पक्का गरेको छ । लिग अन्तर्गत समूह चरणका चार खेलमा जित दर्ता गर्दै बार्सिलोनाले १२ अंक बनाएको छ । बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान मेस्सीसँगै फ्रान्क डी जोङलाई यो खेलमा नअटाएर आराम दिएका थिए ।

प्रतिक्रिया