रायमाझीको दाबी – ‘नेकपा कुनै पनि हालतमा फुट्दैन’

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो दाबी गरेका हुन् ।

उनले पार्टी ठुलो होस या सानो अन्तरविरोध निरन्तर भइरहेने बताए । उनले भने,‘यो सर्वमान्य कुरा हो । अन्तरविरोध यस्तो चिज हो–जो निरपेक्ष हुन्छ । एकता सापेक्ष हुन्छ । अन्तरविरोध कहिले एकदम उचाईमा पुग्छ । कहिले तल पुग्छ । यसलाई स्वभाविक ठान्नुपर्छ । यो अन्तरविरोधले पार्टी विभाजनतिर पो लैजान्छ कि अथवा के हुन्छ ? भन्नेबारे चर्चा भैरहेको छ । म विश्वास दिलाउन चाहन्छु–पार्टी कुनै हालतमा फुट्दैन् ।’

उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भइसकेकोले त्यसमा छलफल हुने बताए ।

उनले भने,‘अध्यक्ष केपी शर्मा ओलीले पनि अब बस्ने सचिवालय बैठकमा पेश गर्नेरी प्रतिवेदनको तयारी गर्दै हुनुहुन्छ । सम्पूर्ण विषयवस्तु र एजेण्डालाई केलाएर हेर्दा र अध्ययन गर्दा नेकपा सक्लो रहला कि फुट्ला, सरकार ढल्ला कि के होला भन्ने चर्चा अहिले चलिरहेको छ । म दाबाका साथ भन्छु–यही कारणले मात्रै पार्टी विभाजनमा जाँदैन् ।’

उनले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता/कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने सुनाए ।

रायमाझीले अहिले देखिएको पार्टीभिको विवाद र समस्या आफूहरुले कुनैपनि हालतमा समझदारीका साथ हल गर्ने विश्वास दिलाए । उनले भने,‘हामी एकै ठाउँमा उभिएर निश्कर्ष निकाल्छौं । पार्टीभित्रको शक्ति सन्तुलन, सबै विषयलाई केलाएर एकीकृत रुपमा छलफल गर्छौं । हामी निश्कर्षमा पुर्याउँछौं । फुटको पक्षमा उभिने, अस्वस्थ प्रतिष्पर्धा गर्ने, दुश्मनीपूर्ण संघर्षमा लैजाने काम कसैबाट पनि हुनुहुन्न ।’

उनले पार्टीभित्र हुने छलफल तथा बहसलाई स्वभाविक रुपमा लिनुपर्नेमा जोड दिए । नेताहरुले जनआन्दोलन, जनयुद्ध, संविधान निर्माण, चुनाव, पार्टी एकता र सरकार निर्माणको लागि विशिष्ट योगदान गरेको बताउँदै अब पनि त्यो हैसियत राख्नुपर्ने उनको भनाइ छ ।

उनले अध्यक्ष दाहालको प्रतिवेदन सचिवालयमा गइसकेकोले त्यसमा विधिसम्मत रुपमा छलफल हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया