प्रहरीको गोली लागेर गम्भीर घाइते भएकालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयाे

काठमाडाैं । महाेत्तरीकाे बर्दिबासमा प्रहरीले चलाएकाे गाेली लागेर गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । त्यहाँका स्थानीयले आज (मंगलबार) राजमार्ग अवरूद्ध पारेर प्रदर्शन गरेपछि प्रहरीले भीड नियन्त्रणमा लिन अश्रुग्याँस र गाेली चलाएकाे थियाे ।

प्रहरीले चलाएकाे गाेली लागि तीन जना गम्भीर घाइते भएका थिए । उपचारका लागि घाइतेहरूलाई मंगलबार नै हेलिकप्टरबाट काठमाडाैं ल्याइएकाे हाे । एक जनालाई काठमाडाैं ल्याइएकाे र दुई जनाकाे त्यहीँ उपचार भइरहेकाे बताइएकाे छ । गाेली लागेर बर्दिबासका ३५ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका थिए ।

महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार बुद्धिराजको तिघ्रामा गोली लागेको छ । उनको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएकाे हाे । यस्तै श्याम कार्की र अफताब आलमलाई गोलीको छर्रा लागेको र उनीहरुको अवस्था सामान्य रहेका उनले जानकारी दिए । 

आइतबार साँझदेखि हराएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा बोराभित्र सोमबार राति शव फेला परेको थियो । बालिकाको शव फेला परेपछि मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका स्थानीयहरूले आरोपित युवकको घरमा आगो समेत लगाएका छन् । आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेपछि घरमा पूर्ण रूपमा क्षति पुगेकाे छ ।

बालिका हत्याको आरोपमा प्रहरीले स्थानीय २५ वर्षीय अरूण कुमार साहलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका साहले गुलाबलाई बलात्कार पश्चात हत्या गरी बोरामा राखेर फालेको प्रहरीको अनुमान छ । पक्राउ परेका साहले आफूले बालिकाको हत्या गरेको स्वीकार समेत गरिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया