आम उद्योगी व्यवसायीको साझा टीम भएकोले हाम्रो जीत सुनिश्चित छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व गर्ने वास्तविक व्यवसायीलाई नेतृत्वमा ल्याउन सकेमात्र व्यवसायीको एजेण्डा स्थापित गर्न सकिने बताए ।

मंगलबार साधारणसभामा भाग लिन अएका जिल्ला नगर तथा वस्तुगत संघका व्यवसायीहरुसँगको भेटमा उम्मेदवार ढकालले महासंघ साना तथा ठूला सबै व्यवसायीको छाता संगठन भएको र यसले सरकार तथा नियमनकारी निकायसँग काम गर्नुपर्ने भएकोले वास्तविक व्यवसायीले मात्र सम्बन्धित निकायसँग आफ्नो कुरा राख्न सक्ने उनको भनाइ छ ।

‘जसलाई व्यवसायको समस्या र पीडा थाहा छैन । उसले कसरी त्यस्ता समस्या समाधान गर्न र व्यवसायमैत्री नीति निर्माणमा पैरवी गर्नसक्छ ? हाम्रो टीम हेर्नुस् यस उत्पादनमूलक उद्योगदेखि सेवा क्षेत्र र निर्यातमूलक व्यवसाय गरेका अनुभवी व्यक्तिहरु हुनुहुन्छ । यो टीमले मात्र वास्तविकरुपमा महासंघको नेतृत्व दावी गर्नसक्छ,’ ढकालले भने । उनले आफ्नो उमेद्वारीमा आम उद्योगी, व्यवसायीहरुले अपनत्व महशुस गरेको बताए ।

उनले सानादेखि ठूला उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूको साझा उमेद्वार भएकोले आफ्नो जीत सुनिश्चित भएको समेत भनाइ छ । ‘तपाईहरुसँगको मेरो सम्बन्धलाई नै मैले आफ्नो चुनाव जित्ने बलियो आधारको रुपमा लिएको छु । यो अहिले चुनाबले बनेको सम्बन्ध पनि त होइन । हाम्रो व्यवसायिक नेटवर्क जुन ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ यसले हाम्रो सम्बन्ध सधै यस्तै नै रहनेछ । महासंघमा म हुँदा र नहुँदा पनि,’उनले भने ।

त्यस्तै, हाम्रो जीतको अर्को महत्वपुर्ण आधार भनेको हाम्रो टिम हो, जसले गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पु¥याउन सक्ने हैसियत राख्ने ढकालले बताए । ढकालले आफ्नो टीम साना तथा ठूला व्यवसायिका समस्याहरुको समाधानमा सक्रिय भूमिका निभाउने, समाधान खोज्न र महासंघको सँस्थागत क्षमता अभिवृद्धिसँगै यसलाई गतिशिल बनाउदै नयाँ उचाईमा पुर्याउन सक्षम र प्रतिबद्ध रहेको जानकारी दिए ।

चुनावको बेलामात्र जिल्ला पुग्ने र अरु समयमा टेलिफोनसमेत नउठाउने नेतृत्वहरुले गर्दा जिल्ला नगरका साना तथा मझौला व्यवसायीका गुनासा र समस्याहरु समाधान नभएको बताउँदै उनले हरेक जिल्ला तथा नगरसम्म फैलिएको व्यवसायिक सञ्जाल र व्यवसायी साथीहरुसँगको सम्बन्धले गर्दा आफू सधै व्यवसायीहरुकै सारथी बन्ने प्रतिवद्धता व्यक्त गरे ।

अबका दिनमा कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका कामहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताउँदै ढकालले अन्यथा, निजी क्षेत्र उठ्नै नसक्नेगरी थला पर्नेछ र यसको मूल्य हामीले मात्र नभई राज्यले नै चुकाउनुपर्ने अवस्था समेत आउने बताए ।

प्रतिक्रिया