भीड नियन्त्रण गर्न प्रहरीले चलायाे अश्रुग्याँस र गाेली, तीन जना घाइते

काठमाडाैं । महाेत्तरीकाे बर्दिबासमा भइरहेकाे प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेलीबाट तीन जना घाइते भएका छन् । मंगलबार दिउँसाे भइरहेकाे प्रदर्शन तथा भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाउँदा तीन जना घाइते भएका हुन् ।

गाेली लागेर घाइते हुनेहरूमा बर्दिबास बस्ने ३५ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएकाे स्थानीय प्रहरीले जनाएकाे छ । कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आलमको टाउकोमा चोट छ । उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार साँझदेखि हराएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा बोराभित्र सोमबार राति शव फेला परेको थियो । बालिकाको शव फेला परेपछि मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका स्थानीयहरूले आरोपित युवकको घरमा आगो समेत लगाएका छन् । आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेपछि घरमा पूर्ण रूपमा क्षति पुगेकाे छ ।

बालिका हत्याको आरोपमा प्रहरीले स्थानीय २५ वर्षीय अरूण कुमार साहलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका साहले गुलाबलाई बलात्कार पश्चात हत्या गरी बोरामा राखेर फालेको प्रहरीको अनुमान छ । पक्राउ परेका साहले आफूले बालिकाको हत्या गरेको स्वीकार समेत गरिसकेको प्रहरीले जनाएको छ ।

अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको छ । बालिका हत्याको शोकमा बर्दिबासका केही विद्यालयले समेत मंगलबार पठनपाठन बन्द गरेका छन् ।

प्रतिक्रिया