बालिका बलात्कारपछि हत्या गरेकाे आरोप लागेका युवकको घरमा स्थानीयले लगाए आगो

काठमाडाैं । महाेत्तरीकाे बर्दिबासकी ६ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या गरेकाे आरोप लागेका युवकको घरमा स्थानीयले मंगलबार आगो लगाएका छन् । स्थानीयले घरमा ढुंगामुढा समेत गरेका छन् ।

आइतबार साँझदेखि हराएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा बाेराभित्र सोमबार राति शव फेला परेको थियो । बालिकाको शव फेला परेपछि मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका स्थानीयहरूले आरोपित युवककाे घरमा आगो लगाएका हुन् । आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका थिए ।

बालिका हत्याकाे आरोपमा प्रहरीले स्थानीय २५ वर्षीय अरूण कुमार साहलाई नियन्त्रणमा लिएकाे थियाे । पक्राउ परेका साहले गुलाबलाई बलात्कार पश्चात हत्या गरी बोरामा राखेर फालेको प्रहरीकाे अनुमान छ । पक्राउ परेका साहले आफूले बालिकाको हत्या गरेको स्वीकार समेत गरिसकेकाे प्रहरीले जनाएकाे छ ।

अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको छ । बालिका हत्याको शोकमा बर्दिबासका केही विद्यालयले समेत मंगलबार पठनपाठन बन्द गरेका छन् ।

प्रतिक्रिया