अब गाडी चढेरै सगरमाथा आधारशिविरतिर…

  • प्रकाश खालिङ

सोलुखुम्बु । प्रदेश नं.का मुख्यमन्त्री शेरधन राईले माप्य–खुम्बु मितेरी मोटरेबल पुललाई प्रदेशकै नमूना पुलको रुपमा घोषणा गरेका छन् । माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त पहलमा दुधकोशी नदीको ओर्लाङघाटमा निर्मित उक्त मोटरेबल पुलको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो घोषणा गरेका हुन् ।

छोटो समयमै पुल निर्माण सम्पन्न गरेर विश्वभरका मानिसलाई सिधै सगरमाथासँग जोड्ने काम भएको उल्लेख गर्दै उनले यसबाट विकास र सम्वृद्धिको मूल ढोका खुलेकोसमेत बताए । ‘बाहानाबाजी नगरी चुनौतीसँग नभाग्ने हो भने काम गर्न सकिन्छ भन्ने तथ्य यो पुल निर्माणबाट स्थापित भएको छ,’ मुख्यमन्त्री राईको भनाइ थियो, ‘डिजाइन, छोटो समयमा निर्माण भएको र नौलो मोडालिटीमा बनेको हिसाबले यो पहिलो नमूना छ । अन्तर स्थानीय तह, प्रदेश र संघीय सरकारको सहलगानीमा विषम् परिस्थितिकै बीचमा पनि काम सकियो । यसलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।’

दुई वटा गाउँपालिकाको समन्वय र तत्परता तथा सबै पक्षको साथ सहयोगबाट उक्त नमूना सुन्दर र दीगो पुल निर्माणको काम सम्भव भएको भन्दै यसले देशभरी एउटा सकारात्मक सन्देश प्रवाह हुने विश्वाससमेत मुख्ममन्त्री राईले व्यक्त गरेका छन् । एक अर्को प्रसंगमा उनले शुरु गरेको तीन वर्षको अवधिमा थुप्रै नमूना कामहरु भएको दाबी गर्दै यो संघीयताको उपहार भएको बताए । संघीयताका बारेमा नकारात्मक अभिव्यक्तिहरु दिँदै हिँड्नेहरु जनता र राष्ट्रविरोधी भएको भनाइ उनको भनाइ थियो ।

यसैगरी संघीय सांसद हेमकुमार राई (सुरवीर)ले पुल सञ्चालनमा आएसँगै त्यस क्षेत्रको जनताको सहजताका साथै राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन टेवा पुगेको बताए । उनले ड्रोन क्यामेराबाट फोटो खिचेर कुप्रचारमा मात्रै लाग्नेहरु अब त्यहीँ ड्रोन क्यामेरासँगै सकिने टिप्पनीसमेत गरेका छन् । ‘डाँडामा बसेर विरोध मात्रै गर्ने होइन,’ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसप्रति इङ्गित गर्दै सांसद राई भने, ‘राजनीतिक गर्ने हो भने राजनीतिक संस्कार बोकेर जनताको सुखदुःखको बीचमा आउनुस् र रचनात्मक सुझाव सल्लाह दिनुस् । ड्रोनबाट फोटो खिचेर कुप्रचारमात्रै गर्ने हो भने अब त्यहीँ ड्रोन क्यामेरासँगै सकिने छौं ।’

पुलको उद्घाटन गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई

यस्तै उनले आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि प्राथमिकताको आधारमा काम भइरहेको र त्यसनिम्ति तीनै तहको सरकार लागिपरेको पनि बताए । ‘हामीले चुनावमा गरेको प्रतिबद्धताअनुसार काम गरेका छौँ । राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार सडकको आधार तयार गर्ने काममा लागिरहेका छौँ । निर्वाचित भइरहँदा ५२ वटामा २६ वटा वडामा त्यो पनि हिउँदको समयमामात्रै गाडी कुद्ने मोटरबाटो थियो । तर, यो तीन वर्षको अवधिमा अधिकांश वडाहरुलाई मोटर बाटोले जोडिसकेको छ । १८ वटा पुल हाम्रो कार्यकालमा बन्नेछ । दुधकोशीमा मात्रै ६ वटा मोटरेबल पुल बन्दैछन् । मेरो हिसाबमा हाम्रो कार्यकालमा १८ वटा मोटरेबल पुल बन्दैछन्, त्यसमा केही पूरा हुनेछन् केही अन्तिम चरणमा पुर्याएर छोडिनेछ । सञ्चारको क्षेत्रमा फोरजीमार्फत् सञ्चार सुविधा विस्तारको लागि काम भइरहेका छन् । पछिल्लो पटकमात्रै २१ वटा टावर बनेर केही बाहेक सञ्चालन भइसकेको छ । अप्टिकल फाइबरबाट इन्टरनेट सेवा विस्तार भइरहेको छ । यसअघि ग्रामिण विद्युतीकरणको कुनैपनि काम भएको थिएन । हामीले अघिल्लो वर्षमात्रै जिल्लामै विद्युत कार्यालयस्थापित गरेर काम तीब्र गतिमा अगाडि बढाइसकेका छौं । अहिलेसम्म २५ हजार भन्दा बढि हाइटेन्सन बन्ने काम सम्पन्न भइसकेका छन् भने अन्य कामले तीब्रता पाइरहेको छ । अबको दुई वर्षभित्र उज्यालो सोलुको सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता पूरा हुनेछ ।’

|पुलको उद्घाटनपछिको दृश्य |

यसैगरी प्रदेश नं. १ का अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले केवल दुईटा गाउँपालिका जोड्नेमात्रै नभएर यो पुलले पर्यटकीय क्षेत्र खुम्बुसँग विश्वलाई जोड्ने महत्वपूर्ण कडीको काम गरेको बताए । यो पुल नयाँ मोडेलमा निर्माण भएको चर्चा गर्दै उनले भने, ‘तीन तहको लगानीलाई केन्द्रित गरेर सहलगानीको सिस्टममार्फत् यो पुल बनेको छ । तीन वटै तहको समन्वय र सहकार्यविना सम्बृद्ध नेपालको सपना पूरा हुन सक्दैन ।’ यसैबीच उनले खुम्बु क्षेत्रलाई जोड्ने सडक ट्र्याक ओपनसँगै बनिसकेको सडकको स्तरोन्नतिलाई लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्ने पनि बताए ।

उज्यालो प्रदेश बनाउने अभियानअन्तर्गत विद्युतीकरणको कार्य तीब्र गतिमा भइरहेको, खानेपानीको विस्तार, कृषि क्षेत्रको आधुनिकिकरण र बजारीकरण गर्दै विगतमा विकास क्षेत्रबाट वञ्चित हुनुपरेको हरेक क्षेत्रलाई प्राथमिकताका आधारमा काम अगाडि बढाइरहेको भनाइ उनको थियो ।

प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले माप्य खुम्बु मितेरी पुल शिलान्यास र उद्घाटनको बीच थुपै्रखाले भ्रमहरुलाई चिर्दै प्रतिबद्धताअनुरुप पुल निर्माणको काम पूरा गर्न सफल भएको बताए । उनले यो पुल बनिसकेपछि अब वार्षिक लाखौं पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने विश्वाससमेत व्यक्त गरे । छिर्दिमा पुल बन्दैन भनेर कांगे्रसले भ्रमको खेती गर्दै हिँडेको भन्दै उनले ठेक्काको काम भइसकेकोले अब चाँडै त्यो पुल बन्ने दाबीसमेत गरे । यस्तै त्यस क्षेत्रलाई राष्ट्रिय प्रशारण लाईनसँग जोड्नका लागि माप्य दुधकोशी गाउँपालिकाको वडा नं. २ वा १ मा सब्स्टेसन बनाउनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी पनि उनले दिएका छन् ।

|पुलको उद्घाटनपछिको दृश्य|

त्यसैगरी अर्को प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेतले झापाको केचनादेखि सगरमाथाको आधार शिविरसम्म सडक पुर्याउने लक्ष्यका साथ तीब्र गतिमा काम भइरहेको उल्लेख गर्दै यो बाटो, यो पुलबाट गाडीमात्रै नभएर होइन छिमेकी मुलुकको नाका खोलेर नयाँ बजार स्थापित गर्ने आधार तय भएको बताए । सबै विषय शून्यबाट सुरुआत् गरेर आजको यो उचाइमा पुर्याएको भन्दै उनले भने, ‘हामी जे बोल्छौं, त्यो गर्छौँ भन्ने बचतबद्धता आज व्यवहारबाट हामीले दखाउँदैछौं ।’

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले खुम्बु र लिखुपिकेको केन्द्रसम्म सडक पुग्न बाँकी रहेको उल्लेख गर्दै अब त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले पूर्वाधार र भूगोलको हिसाबले समस्या भएकाले सोलुखुम्बु जिल्लालाई बजेट तथा कार्यक्रममा प्रदेश र संघीय सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला अध्यक्ष मानवीर राईले दुधकोशीको मोटरेबल पुल मात्रै नभएर संसारभरका पर्यटकहरु आउने बाटो खुलेको बताए । उनले खुम्बु र माप्य दुधकोशीलाई जोड्ने मात्रै नभएर यसले विश्वबाट आउने सबैका लागि बाटो खुलेको बताए । मोटरेबल पुलसँग अब यो मार्गलाई मजबूद बनाउने, स्तरोन्नति गर्दै पिच गर्नको लागि तीनै तहको सरकार लाग्नुपर्नेमा उनको जोड थियो ।

कांगे्रसले सोलुखुम्बुमा एकछत्र चार कार्यकाल जितेपनि एउटा सिन्को नभाँचेको भन्दै उनले भने, ‘यत्ति लामो समय सत्तामा बसेको कांग्रेसले आफ्नो पालामा गरेको उदाहरणीय काम देखाउन सकोस् । म चुनौती दिन चाहान्छु । आफ्नो पालामा एउटा सिन्को नभाँच्ने अनि अहिले यति छोटो समयमा भइरहेको विकास निर्माणका बारेमा अनावश्यक भ्रम फैलाउँदै हिँड्ने ? यो नैतिकता कांगे्रससँग छैन ।’

नेकपा सोलुखुम्बुका जिल्ला सचिव कज्र्याङ शेर्पाले यो पुल सम्बृद्धिको आधारमध्ये एक रहेको बताए । छोटो समयमै नमूना पुल बनेको देखेर कांगे्रस भ्रमको खेतीमा लागिपरेको भन्दै उनले व्यांगात्मक रुपमा भने, ‘यो पुल बनेपछि कांगे्रसको मन जलेको, दिल जलेको र आँखा पोलेको छ । जल्नेको मन जलिरहन्छ । पोल्नेको आँखा पोलिरहन्छ । तर पुल बनिसक्यो । यो विकास अझ बढिरहनेछ । त्यस्ताहरुको उपचारको लागि अस्पताल पो बनाउनुपर्ने हो कि ?’ उनले सम्वृद्धि र सुशासनको अभियानमा पार्टी पंक्ति एकदम कटिबद्ध रुपमा लाग्ने बताउँदै सबैखाले चुनौतिलाई सामाना गर्न तयार भएर काममा लाग्न जनप्रतिनिधिहरुलाई आग्रहसमेत गरे ।

माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकाको विकासमा मोटरेबल पुलले एउटा आधारशिला खडा हुने विश्वास व्यक्त गरेका छन् । पुल बनेपछि माप्य दुधकोशी हुँदै खुम्बु क्षेत्रमा पर्यटक आवतजावतमा सहज हुनुका साथै यस क्षेत्रको कृषि, पर्यटन तथा समग्र अर्थतन्त्र चलायमान बनाउन बनाउँदै देशकै अर्थतन्त्रमा टेवा पुग्ने बताए ।

४८ मिटर लम्बाई र ६ मिटर चौडाईको पुल जलप नेपालले टेण्डरमार्फत् ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको हो । जसमा भ्याटसहित जोड्दा पुलको लगानी जम्मा ८ करोड २४ लाख ६ हजार ८३६ रुपैयाँ पुग्छ । ५५ टनको क्षमता रहेको पुल निर्माणमा संघीय सांसद कोषमार्फत् १ करोड, प्रदेश १ सरकारबाट २ करोड, बाँकी माप्य दुधकोशी गाउँपालिका र खुम्बुपासाङल्हामु गाउँपालिकाले लगानी गरेको हो ।

सो पुलबाट माथि थामडाँडासम्म सडकको ट्र्याक सञ्चालनमा आएको छ । त्यसमाथि पर्यटकीय स्थल लुक्लासम्म यसै आर्थिक बर्षभित्र सडकको ट्रयाक पुर्याउने लक्ष्य राखिएको छ । २०७५ साल पौस १५ गते दुधकोशी नदीमा स्काभेटर तारिएको थियो । त्यसै वर्षको चैत्र १९ गते ८ मिटर चौडाईको सडक ट्र्याक खरिखोला पुग्यो । खुम्बुलाई पहिलो पटक सडक सञ्जालले जोडेको त्यहीँ दिन हो । पुलदेखि २५ किलोमिटर सडक ट्र्याक ओपन भएर थामडाँडासम्म पुगेको हो भने अब खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्रसम्म पुग्न २४ किलोमिटर बाँकी रहेको छ ।

मौसमी अवस्थामा भर पर्नुपर्ने हवाईसेवाको विकल्पमा अव यो सडकमार्गले खुम्बु क्षेत्रको स्थानीय तथा त्यहाँ पुग्ने लाखौं पर्यटक लाभान्वित हुने भएका छन् । महङ्गो मूल्य तिरेर हवाई ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सोलुखुम्बुकै तल्लो भेग र ओखलढुंगालगायत अन्य जिल्लाबाट समेत तरकारी तथा खाद्यान्य लगायतका सामाग्रीहरु ढुवानी गर्न अब सहज भएको छ । दुधकोशी नदीमाथि निर्मित सो पुल सडकमार्गबाट टाढै रहेको खुम्बु क्षेत्रको लाईफलाईन बनेको छ ।

प्रतिक्रिया