६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका ‘साह’को घरमा आगजनी

काठमाडौं । महोत्तरीको बर्दिवासकी ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका अरुण कुमार साहको घरमा आगजनी गरिएको छ । हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले आगजनी गरेका हुन् ।

आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका छन् । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । उनका अनुसार बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दा सवारी साधनहरूको लाम लागेको छ ।

बर्दिवास नगरपालिका–१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । प्रहरीका अनुसार पक्राउ परेको युवकले हत्या गरेको स्वीकारेका छन् । घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने शव परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ ।

प्रतिक्रिया