मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

ओलाङचुङगोलामा ओलीको बोली–‘सरकारको राम्रो काम देखेर केही तत्वलाई असह्य भयो’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको बताएका छन् ।
सोमबार (आज) फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवन उद्घाटन गर्न ताप्लेजुङ पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको बताएका ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने भ्रमपूर्ण प्रचार भइरहेको पनि बताएका छन् । यस्तै उनले निराधार हल्लाको पछाडि नलाग्नसमेत आग्रह गरेका छन् ।
घुन्साजस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगम हुनेगरी विकासका योजनाहरु सञ्चालन गरिने प्रधानमन्त्रीको आश्वासन थियो । कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई पाँच लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरेकी छन् ।
प्रधानमन्त्रीसँगै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगश भट्टराईलगायतका नेताकार्यकर्ताहरु ताप्लेजुङ पुगेका छन् ।
कांग्रेस प्रवक्ता शर्माले भने–प्रधानमन्त्रीले सत्ताको अफर गरेका होइनन्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा शनिबार भेटवार्ता भएको थियो। प्रवक्ता शर्माले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीचको भेटघाट निश्चित विषयवस्तु र कार्यसूचीमा आधारित मात्रै हुनुपर्छ भन्ने नभएको बताए।
उनले प्रधानमन्त्रीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न आग्रह गरे ।
काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् ।
सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दैै उनले जनताले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताएका हुन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले सङ्घीयताको मर्म र भावना विपरीत काम गर्दै आइरहेको आरोप लगाए ।
कोरोना अपडेट : संक्रमणमुक्त हुनेको संख्या २ लाख बढी

नेपालमा कोरोना संक्रमण कारण थप १६ जनाको निधन भएको छ । योसँगै नेपालका कोरोनाका कारण निधन हुनेको संख्या १ हजार ३ सय ३७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ हजार ४३ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १ हजार ९ सय ८० जनामा संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।
जसमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । यसैबीच आज काठमाडौं थप १ हजार ७ जना संक्रमित थपिएका छन् ।
संसद अधिवेशन शुरु गर्न तयार छौं–सभामुख सापकोटा

सभामुख अग्नी प्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताएका छन् । संसद सचिवालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
उनले सकेसम्म चाँडो संसद राख्नका लागि छलफल भइरहेको भन्दै संसद सञ्चालनका लागि धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै तयारी गरिएको बताए ।
हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले जानकारी दिए । बजेट पारित गरेपछि सकिएको संसद अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन । संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था छ ।
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा पोखरा–२८, कालिका घरभई लेकसाइड बस्दै आएका ३८ वर्षीय पाइलट राजु नेपालीको मृत्यु भएको हो । उनीसँगै प्याराग्लाईडिङ गरिरहेकी एक महिला घाइते भएकी छन् । घाइते महिला काठमाडौँ बूढानीलकण्ठ–२, वासिकुकी २८ वर्षीया शिला श्रेष्ठ हुन्।
कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।
दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पु¥याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए । घाइते श्रेष्ठको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको दाहिने हात र टाउकोमा चोट लागेको छ ।
परीक्षाको पूर्वसन्ध्यामा शिक्षामन्त्रीको अनुरोध – ‘ढुक्क भएर परीक्षा दिनुस्’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई अनुरोध गरेका छन् ।
परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले यही मंसिर ९ गतेदेखि हुने कक्षा १२ को परीक्षामा आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरिएको हुँदा ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका हुन् ।
यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् ।
बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्दैछ ।
उनले कक्षा १२ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि २०७७ जारी गरिएकाले सचेततापूर्वक अग्रपंक्तिमा रहेर पहलकदमी लिन जनप्रतिनिधिहरुलाई पनि आग्रह गरेका छन् ।
दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब
धितोपत्र बजारमा आइतबार र आजको कारोवार रकम कूल रु १२ अर्बको हराहरीमा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोवार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो ।
यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोवार भयो ।
स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०.४३ मा ओर्लेको छ । नेप्सेको सुधार आज रोकिएको भए पनि कारोवार रकम भने झण्डै साँढे चार अर्ब माथि रहेको छ । आज ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अङ्कले ओरालो लागेर ३४४.९५ मा झरेको छ ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने आरोलो लागेको छ । बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ ।
नापोलीमाथि मिलानको जित, युभेन्टस चौथोमा
इटालियन सिरी ए अन्तर्गत एसी मिलान विजयी भएको छ । गएराती सम्पन्न खेलमा मिलानले नापोलीलाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानको जितमा जलाटन इब्राहिमोविचले २ गोल गरेका छन् । इब्राहिमोविचले खेलको २० र ५४औ मिनेटमा गोल गरेका हुन् । त्यस्तै मिलानका लागि अर्को गोल जेन्स पेट्टर हगले गरेका हुन् । नापोलिका लागि एक गोल भने ड्राइज मेर्टेन्सले गरेका हुन् ।
यस खेलको ६५औ मिनेटमा नापोलीक बकायोकोले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सिमित भएको थियो । यस खेलमा २ गोल गरेसँगै इब्राहिमोविचले सिरी ए मा नयाँ किर्तिमान बनाएका छन् । इब्राहिमोविच सिरी ए को पहिलो ८ खेलमा १० गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बनेका छन् । यस अघि यो किर्तिमान १९४२र४३ मा सिल्भियो पिओलाको नाममा रहेको थियो ।
८ खेलबाट २० अंक बनाएको एसी मिलान शीर्ष स्थानमा छ । समान ८ खेलबाट १८ अंक बनाएको सासुओलो दास्रो स्थानमा छ । आइतबार राति नै भएको खेलमा सासुओलो हेलास भेरोनालाई २(० ले हराएको थियो । यस्तै पार्मालाई ३(० ले पराजित गरेको रोमा १७ अंकसहित तेस्रो स्थानमा रहेको छ । युभेन्टस १६ अंकका साथ चौथो स्थानमा छ ।
“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो
संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ ।
अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो । तर राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरु उल्लंघन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गर्नु भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ ।








