एनआईसी एशिया बैंकले ल्यायो ‘इन्स्टा–बाइ योजना’ : खरिद रकम मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सक्ने

काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै पीओएस मर्चेन्टहरूमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘इन्स्टा–बाइ योजना’ सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो ।

यस योजनामार्फत इच्छाएको सामग्री तत्काल प्राप्त गरी खरिद रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सकिनेछ ।

क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहना लगायतका सामग्री तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

क्रेडिट कार्डमार्फत सामग्री खरिद गरेपश्चात् आफुलाई नजिक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सकिनेछ । बैंकले केही दिनभित्रै वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था समेत गर्न लागेको छ ।

यस आकर्षक योजनाबाट एकातिर क्रेडिट कार्ड प्रयोगकर्ताहरूले चाहेको सामग्री तथा सेवा तत्काल प्राप्त गर्ने र अर्कोतिर मर्चेन्टहरूले विक्री भएको सामग्री तथा सेवाको तत्काल भुक्तानी प्राप्त गरी भरपुर फाइदा उठाउन सहज पुग्ने बैंकले विश्वास लिएको छ ।

यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहनुहुने नयाँ ग्राहक महानुभावहरूले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन समेत सकिनेछ ।

प्रतिक्रिया