मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले चारैवटा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भनेअनुसार सो छलफल नियमित हो । यता ओलीले भेटेलगत्तै तीन सुरक्षाका प्रमुखहरु गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न मन्त्रालय पुगेका छन् ।

ओलीले भेटेपछि गृहमन्त्री थापाले नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग छलफल गरेका हुन् ।

‘नेकपा माटोको हाँडी हैन, कुनै व्यक्तिले लठ्ठीले हानेर फुट्नलाई’
नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी कुनै हालतमा नफुट्ने बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले भने, ‘नेकपा माटोको हाँडी हैन, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने बित्तिकै फुट्ने । यो कुनै कमजोर आधारमा बनेको पार्टी पनि हैन ।’

आठ लाख कार्यकर्ता भएको विशाल पार्टी नेकपा भएको र कसैले बोल्दैमा पार्टी फुट्ने भन्ने नहुनेमा उनले जिकिर गरे। नेता रावलले पार्टी फुटाएर कसैलाई फाइदा नहुने पनि बताए । ‘केपी ओलीले पार्टी फुटाएर प्रधानमन्त्रीभन्दा ठूलो पद के पाउनुहुन्छ ? उनले प्रश्न गर्दै भने अर्का कार्यकारी अध्यक्ष प्रचण्डले योभन्दा ठूलो कुन पार्टीको नेतृत्व गर्नुहुन्छ ? त्यसैले पार्टी फुट्ने भन्ने हल्ला मात्रै हो, पार्टी कुनै हालतमा फुट्दैन् ।’

आजको कोरोना अपडेट : थप १६ जनाको मृत्यु, संक्रमितको संख्या कति ?
नेपालमा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ९९ जना संक्रमित निको हुँदा थप १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आजको थप अपडेटसँगै कोरोना संक्रमित संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । आज क्वारेन्टिनमा ६८६ छ भने सक्रिय संक्रमित संख्या १९ हजार ९६३ रहेको छ ।

सरकारले ल्यायो बलात्कारसम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश, अब मिलापत्र गराउनेलाई पनि कारवाही !
आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

पछिल्लो समय महिला हकअधिकार तथा सचेतना सन्दर्भमा विभिन्न कार्यक्रमहरू गरिएपनि बलात्कारका घट्नाहरू घट्न छोडेका छैनन् । किशोरीहरुसँगै नाबालिग तथा वृद्धाहरु समेत बलात्कारको शिकार हुने गरेका छन् । कतिपय घटनाहरू मिलापत्रमा समेत टुंगाउने गरिएको छ ।

यसैलाई मध्येनजर गर्दै सरकारले बलात्कारसम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश ल्याएको हो । अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई पनि अपराध किटान गरिएको छ ।

प्रकाशमान सिंह भन्छन्–‘सरकार रमिते मात्रै भयो, आफ्नो सुरक्षा आफैँ गरौँ’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला सरकारले रमिता मात्रै हेरेको बताएका छन् । आइतबार (आज) आफ्नो क्षेत्रका मतदाताहरुसँगको भेटका क्रममा नेता सिंहले यस्तो बताएका हुन् ।

मतदाताहरुसँग नेता सिंहले भने, ‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ । मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागिसमेत अशोभनीय हो ।’ यस्तै उनले सरकार संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा चुकेको पनि बताए ।

सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको नेता सिंहको टिप्पणी थियो । खासगरी कोरोना महामारी नियन्त्रणमा सरकार नराम्रोसँग चुकेको बताएका नेता सिंहले आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने पनि बताएका थिए । ‘कोरोना महामारीको बेलामा सरकारले के गर्याे अब यो भनिरहनु परेन । अब गर्छ भन्ने आश गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैँ आफ्नो सुरक्षामा लाग्नुपर्छ ।

नेकपाको भड्कावबाट कांग्रेस टाढा छ : प्रवक्ता शर्मा
सत्ता साझेदारीको लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेको विषयमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले खण्डन गरेका छन् ।

कांग्रेस सत्ता बाहिर रहने उल्लेख गर्दै सत्ताधारी नेकपाको भड्कावबाट टाढा रहने प्रवक्ता शर्माले ट्विटमा उल्लेख गरेका हुन् ।

कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेको उनले ट्विटमा उल्लेख गरेका छन् ।

आजदेखि काठमाडौंमा निःशुल्क पीसीआर परीक्षण हुने, अशक्त र जेष्ठ नागरिकको लागि मोवाइल भ्यान
काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको हो ।

नेपाल सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी पनि गरिएको छ । काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे ।

निःशुल्क उपचारको माग गर्दै २० संगठनले स्वास्थ्य मन्त्रालयमा बुझाए ज्ञापनपत्र
स्वास्थ्यका क्रियाशील २० वटा संगठनले १८ बुँदे माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार नागरिकको निःशुल्क उपचारलगायत स्वस्थ जीवन जिउन संविधानले दिएको अधिकारप्रति सरकार गम्भीर नभनेको भन्दै स्वास्थ्यमा क्रियाशील सम्पूर्ण सरोकारवाला संगठनहरुले १८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

संगठनहरुले २१ दिनभित्र माग पूरा गरी नागरिकप्रति आफ्नो दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा भविष्यमा आउने समस्याको जवाफदेही नेपाल सरकार हुनुपर्ने संगठनहरुको ज्ञापनपत्रमा उल्लेख छ ।

साथै संगठनले माग पूरा गर्न सहयोग गरिदिन जनसमुदाय, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सरोकारवाललाई अनुरोध गरेका छन् ।

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट
उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय रूपाटारमा आज (आइतबार) बिहान बम विस्फोट भएको छ ।

गाउँपालिकाको कार्यालयको नागरिक सहायक कक्षमा बिहान सवा एक बजे बम विस्फोट भएको हो । बम विस्फोट हुँदा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको कार्यकक्षको झ्यालढोका, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायतका सामानमा पूर्णरूपमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

कार्यालयको गेटमा अर्काे बम पनि फेला परेको र उक्त बम डिस्पोजल गर्न १८ नम्बर बाहिनी अड्डा भुल्केलाई खबर गरिएको छ । अहिले घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ । गेटमा राखिएको बम निस्क्रिय गराएपछि घटनाको थप विवरण आउने जिल्ला प्रहरी कार्यलाय उदयपुरले जनाएको छ । बम विस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल
क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको प्रतिस्पर्धामा फाइदा उठाउँदै युभेन्टसले काग्लिएरीमाथि २–० को जित दर्ता गरेको हो ।

युभेन्टसका लागि दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरे । पहिलो हाफको ३८ र ४२ औँ मिनेटमा रोनाल्डोले गोल गरेका हुन् । यो जितसँगै युभेन्टसले शीर्ष स्थानमा रहेको एसी मिलानसँग अंक दूरी घटाएको छ । सात खेल मात्र खेलेको शीर्ष स्थानको एसी मिलानको १७ अंक छ । युभेन्टसले ८ खेलबाट १६ अंक जोडेको छ ।

अमेरिकी निर्वाचन : ट्रम्पले दायर गरेको ‘धाँधली’ निवेदन अदालतले ग¥यो खारेज
पेन्सलभानिया जिल्ला अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प पक्षले ‘अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली’ भएको भन्दै दिएको निवेदन खारेज गरेको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट्स् उम्मेदवार जो बाइडेनका पक्षमा हुलाकमार्फत् कैयन् फर्जी मत खसेको, धाँधली भएको आरोप लगाउँदै ट्रम्प पक्षधरले अदालतमा दिएको निवेदन खारेज भएको सिएनएनले उल्लेख गरेको छ ।

संविधान उल्लंघन गर्ने अधिकार अदालतलाई नभएको उल्लेख गर्दै उक्त अदालतका एक न्यायाधीश म्याथ्यु ब्रायनले ट्रम्प पक्षको दाबीमा पुष्टि हुने आधार नदेखिएको बताएका छन् ।

जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयास स्वरुप दायर गरेको मुद्दाका दाबीहरुलाई प्रमाणले साथ नदिने उनको भनाइ छ । ट्रम्प पक्षले बाइडेन पक्षमाथि कपोलकल्पित आरोपहरु लगाएको उनको ठहर छ ।

चुनावको नतिजा आफ्नो पक्षमा पार्ने सम्भावनाका लागि ट्रम्पले पेन्सिलभेनियाको मत आफ्नो पक्षमा पार्नै पर्ने हुन्छ । राज्यमा राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्र्याट जो बाइडेन ट्रम्प भन्दा ८१ हजार भन्दा बढि मतले अघि रहेका छन् । देशभर उनले ६० लाख भन्दा धेरै मतको अग्रता लिएका छन् ।

प्रतिक्रिया