स्टार र ह्याम्ससहित चार ल्याबलाई स्वास्थ्य मन्त्रालयले साेध्याे २४ घण्टे स्पष्टीकरण

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिडकाे १९ काे पीसीआर परीक्षण गर्ने स्टार र ह्याम्स अस्पतालसहित चार वटा ल्याबलाई २४ घण्टे स्पष्टिकरण साेधेकाे छ । पीसीआर परीक्षणमा लापरवाही भएका कुराहरु आइरहँदा मन्त्रालयले ल्याबलाई स्पष्टिकरण सोधेको हो ।
कोरोनाको नमूना भण्डारण नगरेको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण साेधिएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
भदौ ३१ गतेको आइसीएसको निर्णय अनुसार कोरोना परीक्षण गर्न सबै ल्याबहरुलाई नेगेटिभको हकमा एक र पोजिटिभको हकमा तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको गौतमको भनाइ छ ।
नेपालमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्ति विदेशमा पुगेपछिकाे परीक्षणमा रिपाेर्ट पाेजेटिभ देखिने प्रकरण बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो । साथै मन्त्रालयले कोरोना परीक्षण गर्न सबै प्रयोगशालाहरु इन्टरनल क्वालिटी कन्ट्रोलको प्रोटोकल बनाइ कडाइका साथ लागू गर्न पनि निर्देशन दिएको छ ।









