अवैध लागूऔषध सहित गुरूङ र मुखिया पक्राउ

काठमाडौं । कास्कीकाे पोखरा महानगरपालिका-९ पृथ्वी चोकस्थित बिश्राम खाजा घर एण्ड गेष्ट हाउसमा बस्ने धादिङ रुराङ गाउँपालिका-४ बेनिघाट घर भएका २९ वर्षीय सिताराम गुरुङलाई १ किलो ५ सय ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले उक्त गेष्ट हाउसमा बसेर लागूऔषध किनबेच गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको १०८ नम्बर कोठा तलासी गर्दा उनले कालो झोलामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित राम मन्दिर चोकको बाईपास सडकबाट नियन्त्रित लागूऔषध १ हजार २ सय ट्याबलेट नाइट्राभेट र १ सय एमएलको ४ बोतल वानरेक्स सहित पर्सा पेटर्वासुगौली गाउँपालिका-३ सुनबर्सा बैरिया बस्ने २४ वर्षीय अनिल मुखियालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बीरगञ्जबाट नारायणघाटतर्फ आइरहेको ना५ ख ५८६८ नम्बरको बस प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार अनिलको झोलाभित्र लुकाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

प्रतिक्रिया