विप्लव समूहका सेक्सन कमाण्डर पक्राउ, पेस्तोल बरामद

  • सुजाता लिम्बू

विराटनगर । प्रतिबन्धित नेत्र विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सेक्सन कमाण्डर हातहतियारसहित पक्राउ परेका छन् ।

मोरङ उर्लाबारी वडा नं. ६ रमाइलो टोलबाट मोरङ प्रहरीले विशेष सूचनाको आधारमा समूहका सेक्सन कमाण्डर पेम्बा शेर्पालाई पक्राउ गरेको हो । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका वडा नं. २ का ३२ वर्षीया शेर्पा शनिबार पक्राउ परेका हुन् ।

उर्लाबारीका एकान्त कोइराला भनिएका एकबहादुर विश्वकर्माको घरमा बसिरहेको अवस्थामा कमाण्डर शेर्पालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङकाअनुसार शेर्पाको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन गोली, मोबाइल सेट, जनमुक्ति सेना लेखिएको किताब, रातो सुखानी लेखिएको किताबलगायतका सामग्री बरामद गरिएको छ ।

नियन्त्रणमा परेका शेर्पालाई हातहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विसं ०७५ सालको फागुन २८ गते सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लवका हजारौं नेताकार्यकर्ताहरु पक्राउ परेका छन् । पक्राउ परेका अधिकांशलाई अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको छ भने धेरैलाई पुर्पक्षका लागि कारागारमा राखिएको छ ।

प्रतिक्रिया